जनकपुरधाम (धनुषा), २२ भदौ । सप्तकोशी नदीको बाढीले बस्ती डुबानमा परेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका स्थानीयलाई अग्लो स्थानमा सार्न थालिएको छ । पशुपालन गरेर दैनिकी चलाउँदै आएका स्थानीयले तत्काल बस्ती छाड्न नमानेपछि उनीहरूलाई बस्तीबाट करिब डेढ किलोमिटर पश्चिमतर्फ रहेको अग्लो स्थानमा सार्न थालिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख वीरेन्द्र माझीका अनुसार आइतबार १० वटा ‘वाटरप्रुफ टेन्ट हाउस’ पठाइएकामा आठ वटा टेन्ट जडान गरी प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । ‘हामीले प्रयास गर्दा पनि त्यहाँका अधिकांश परिवार पशुपालन गरिरहेका कारण बाहिर निस्किन मानेनन्,’ उनले भने, ‘बाध्य भएर त्यहीँ व्यवस्थापन गर्नुपर्यो ।’ नगरपालिकाले प्रभावित परिवारका लागि २५ वटा वाटरप्रुफ टेन्ट हाउस खरिद गरेको छ । नगर प्रमुख माझीका अनुसार सोमबार १० वटा टेन्टका सामग्री पठाएर करिब २५ देखि ३० परिवारलाई अग्लो स्थानमा सारिएको छ ।
प्रभावित क्षेत्रमा थप त्रिपाल पठाउने तथा खानेपानीका लागि दुई वटा ट्युबवेल जडान गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । गोबरगाढामा गरिएको विवरण संकलनमा ९५ परिवार रहेको पाइएको छ । उनीहरूका लागि चामल, त्रिपाल, तेल, दाललगायतका सामग्री समेटिएको राहत प्याकेज सोमबार नै पठाउने तयारी रहेको नगर प्रमुख माझीले बताए ।
गत वर्ष असोजको दोस्रो साता सप्तकोशी नदीमा पानीको बहाव ५ लाख ३३ हजार ५ सय क्युसेक पुगेपछि मात्रै गोबरगाढा बस्तीमा यस स्तरको बाढी पसेको थियो । तर, यस वर्ष नदीको बहाव बढ्दै जाँदा अहिले नै घर–घरमा बाढी पसेपछि स्थानीय त्रासमा छन् ।







प्रतिक्रिया दिनुहोस् !