वीरगंज (पर्सा), १९ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानबाट सम्पर्कविहीन भएका पर्सा, बारा, सर्लाही तथा भारतका ३९ जनाको नामावली जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको छ । रोजगारी, व्यापार तथा अन्य कामका लागि रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि प्रशासनले खोजी तथा उद्धारका लागि विवरण सार्वजनिक गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको खोज तथा उद्धारसम्बन्धी सूचनामा पर्साका साथै बारा र सर्लाहीका नागरिक तथा केही भारतीय नागरिकको नामसमेत समावेश गरिएको छ । प्रशासनका अनुसार सूचीमा रहेका व्यक्तिमध्ये केहीका आफन्त भने सम्पर्कमा आइसकेका छन् ।
प्रशासनले सार्वजनिक गरेको नामावलीमा सफिकराज मियाँ, साहबुद्दिन मंसुरी, सतीश मियाँ, समिम मियाँ, राहुल मियाँ, उमेश प्रसाद, वीर किशोर कुमार, राम करण कुमार, विनय कुमार साह, संजय साह सोनार, सुजत मियाँ, सागर कुर्मी, सुनिल मान डाँगोल, रिजवान अंसारी, आरम्भ चौरसिया, अलोक चौरसिया, लक्की पटेल, आवाज हवारी, नरेश राय, नरेश राई, नग नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दोङ्गल, संजय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, ज्ञानबहादुर खत्री, श्यामलाल मोत्तन, सामिन देवान, अनुतमबहादुर श्रेष्ठ, अभिषेक बरसौला, धनश्याम बरसौला, दिनेश परियार, पृथ्वी चौधरी, ओमिर अंसारी र सरुन कुमार यादव रहेका छन् ।
सार्वजनिक विवरणअनुसार ज्ञानबहादुर खत्री र श्यामलाल मोत्तन भने हाल सम्पर्कमा आइसकेका छन् । त्यस्तै, बाराका केही व्यक्ति तथा भारतीय नागरिकका आफन्त पनि प्रशासनको सम्पर्कमा आएको जनाइएको छ । सम्पर्कमा आएका आफन्तबाट प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ । सूचीमा रहेका अन्य व्यक्तिको अवस्थाबारे पनि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।
भोटेकोशीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीको समयमा रसुवामा रहेका पर्सा तथा आसपासका जिल्लाका नागरिक लामो समयसम्म आफन्तको सम्पर्कमा नआएपछि परिवारजनले उनीहरूको खोजीका लागि प्रशासनसँग आग्रह गरेका थिए । प्रशासनले सम्पर्कविहीन व्यक्तिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न आग्रह गरेको छ । खोज तथा उद्धारसम्बन्धी थप जानकारीका लागि प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्न सकिने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको नामावलीलाई प्रारम्भिक विवरण भनेको छ । खोजीका क्रममा सम्पर्कमा आउने वा फेला पर्ने व्यक्तिको अवस्थाबारे विवरण क्रमशः अद्यावधिक गर्दै जाने प्रशासनले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !