वीरगंज (पर्सा), १९ भदौ । वीरगंजबाट राहत सामग्री संकलन गरेर जेनजी पर्साको टोली रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेको छ । टोलीले बाढीबाट प्रभावित तथा विस्थापित परिवारको बस्तीमै पुगेर राहत सामग्री वितरण गर्नुका साथै उनीहरूको वास्तविक अवस्था र तत्काल आवश्यकताबारे जानकारीसमेत लिएको छ ।
जेनजी पर्साका संयोजक अभिषेक साहको नेतृत्वमा प्रभावित क्षेत्रमा पुगेको टोलीले करिब तीन सय पीडित परिवारलाई प्रत्यक्ष भेटेर राहत वितरण गरेको जनाएको छ । बाढीका कारण घरबारसँगै दैनिक उपभोग्य सामग्रीसमेत गुमाएका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले वीरगंजबाट राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमै पुगेर वितरण गरिएको साहले बताए ।
टोलीले पीडित परिवारको आवश्यकतालाई प्राथमिकतामा राख्दै चामल, चिउरा, बिस्कुट, फ्रुटी लगायतका खाद्यान्न तथा अन्य आवश्यक राहत सामग्री वितरण गरेको जनाएको छ । राहत वितरणका क्रममा पीडित परिवारसँग प्रत्यक्ष संवाद गरी उनीहरूले भोगिरहेको समस्या र तत्काल आवश्यक पर्ने सामग्रीबारे जानकारी लिइएको संयोजक साहले बताए । उनका अनुसार प्रभावित क्षेत्रमा पुगेर वास्तविक अवस्था बुझ्दा पीडित परिवारलाई तत्काल राहतसँगै आगामी दिनमा थप सहयोगको आवश्यकता रहेको देखिएको छ ।
बाढीपीडितलाई राहत सामग्री उपलब्ध गराउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जेनजी पर्साले जनाएको छ । प्रभावित परिवारको आवश्यकताको पहिचान गरी सम्भव भएसम्म थप सहयोग पुर्याउने प्रतिबद्धता टोलीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !