काठमाडौँ, ९ भदौ । सरकारले संघीय सरकारी निकायमा रहेको कर्मचारीको दरबन्दी पुनरावलोकन गर्दै २ हजार ६ सय ७० पद कटौती गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मार्फत विभिन्न मन्त्रालय तथा निकायको संरचना पुनरावलोकन गर्दा ११ सचिव, ७२ सहसचिवसहित २ हजार ६ सय ७० दरबन्दी घटाइएको हो ।
परराष्ट्र मन्त्रालयबाहेक अन्य मन्त्रालयको ओएनएम प्रक्रिया टुंगिएको छ । यसअघि संघीय संरचनामा २२ हजार २ सय ४६ दरबन्दी रहेकामा २ हजार ५ सय ७७ पद कटौती गरी १९ हजार ६ सय ६९ कायम गरिएको छ । सबैभन्दा ठूलो कटौती कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत भएको छ, जहाँ १ हजार ५ सय ६२ दरबन्दी घटाइएको छ ।
दरबन्दी पुनर्संरचनाका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दुई सचिवको पद कटौती भएको छ । त्यस्तै अर्थ मन्त्रालयको राजस्व सचिव, साविक युवा तथा खेलकुद मन्त्रालय, साविक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयको जनसंख्या र प्रशासनतर्फका एक–एक सचिव पद हटाइएको छ ।
त्यसैगरी साविक खानेपानी, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र शिक्षा मन्त्रालयका प्राविधिकतर्फका एक–एक सचिव पद पनि कटौतीमा परेका छन् । नेपाल ट्रस्टको कार्यालयमा समेत सचिवको छुट्टै दरबन्दी आवश्यक नरहेको निष्कर्ष निकालिएको छ ।







प्रतिक्रिया दिनुहोस् !