जनकपुरधाम (धनुषा), ७ भदौ । मधेश प्रदेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँच कमजोर रहेको तथ्यांकले देखाएको छ । उपलब्ध तथ्यांकअनुसार मधेशमा अपाङ्गता भएका बालबालिकामध्ये ६५ दशमलव ०५ प्रतिशत मात्रै हाल विद्यालयमा अध्ययनरत छन् । त्यस्तै, २८ दशमलव ८५ प्रतिशत बालबालिका कहिल्यै विद्यालय नगएको पाइएको छ । यसले प्रदेशमा ठूलो संख्यामा अपाङ्गता भएका बालबालिका शिक्षाको नियमित पहुँचबाट बाहिर रहेको देखाउँछ ।
राष्ट्रिय तथ्यांकअनुसार ० देखि १७ वर्ष उमेर समूहका १ दशमलव २५ प्रतिशत बालबालिकामा अपाङ्गता पहिचान भएको छ । देशभर अपाङ्गता भएका बालबालिकामध्ये ७५ दशमलव ९१ प्रतिशत हाल विद्यालयमा अध्ययनरत छन् । १६ दशमलव ५५ प्रतिशतले भने कहिल्यै विद्यालय टेकेका छैनन् भने ७ दशमलव ६५ प्रतिशत विद्यालय गए पनि हाल अध्ययनरत छैनन् । प्रदेशगत तुलना गर्दा कर्णालीमा अपाङ्गता भएका बालबालिकाको विद्यालय सहभागिता ८४ दशमलव ०५ प्रतिशत रहेको छ । यसको तुलनामा मधेशको ६५ दशमलव ०५ प्रतिशत सहभागिता निकै कम हो ।
अपाङ्गता भएका बालबालिका विद्यालयबाहिर रहनुमा विद्यालयसम्मको पहुँचको कमी, भौगोलिक कठिनाइ, अपाङ्गतामैत्री पूर्वाधारको अभाव, आवश्यक सहायक सामग्रीको कमी, परिवारको आर्थिक अवस्था तथा सामाजिक दृष्टिकोणलगायतका कारण देखिएका छन् । विशेष आवश्यकता भएका बालबालिकाका लागि विद्यालयमा आवश्यक सहयोग र पहुँचयुक्त संरचना नहुँदा भर्ना भएका बालबालिकासमेत बीचमै पढाइ छाड्ने जोखिम रहेको अध्ययनले देखाएको छ ।
लैङ्गिक तथ्यांकअनुसार कुल अपाङ्गता भएका जनसंख्यामध्ये ५४ दशमलव २५ प्रतिशत पुरुष र ४५ दशमलव ८५ प्रतिशत महिला रहेका छन् । त्यस्तै, ग्रामीण क्षेत्रमा अपाङ्गताको दर २ दशमलव ६५ प्रतिशत र सहरी क्षेत्रमा २ दशमलव ०५ प्रतिशत रहेको छ । नेपालको संविधानले आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क हुने व्यवस्था गरेको छ । अपाङ्गता भएका नागरिकका लागि शिक्षामा विशेष अधिकार सुनिश्चित गरिए पनि मधेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँचसम्बन्धी तथ्यांकले संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको देखाएको छ ।
यस अवस्थामा मधेशमा अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गराउने मात्र नभई उनीहरूको निरन्तर अध्ययनका लागि पहुँचयुक्त पूर्वाधार, आवश्यक सहायक सामग्री, विशेष सहयोग तथा अनुकूल शैक्षिक वातावरण निर्माणमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।







प्रतिक्रिया दिनुहोस् !