वीरगंज (पर्सा), ७ भदौ । वीरगंजस्थित हरिखेतान बहुमुखी कलेजमा राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनअन्तर्गतको संस्थागत तालिम औपचारिक रूपमा सुरु भएको छ । एनसीसी सिनियर क्याडेट तालिमका लागि छनोट भएका कलेजका ३० जना छात्र–छात्राको सहभागितामा तालिम शुभारम्भ गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख सेनानी लोकेन्द्र कार्कीले प्रथम प्रवचन दिँदै तालिमको औपचारिक सुरुवात गरेका थिए । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. राम औतार खेतान, व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतान, क्याम्पस प्रमुख किशोरी राय, उपसेनानी विकास मरहट्टा, शिक्षक, नेपाली सेनाका अधिकृत तथा एनसीसी प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सेनानी कार्कीले युवामा अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व क्षमताको विकास गर्नु एनसीसीको प्रमुख उद्देश्य रहेको बताए । उनले एनसीसी तालिमले युवालाई जिम्मेवार, अनुशासित र देशप्रति समर्पित नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनका अनुसार विपद्का समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने दक्ष र जिम्मेवार जनशक्ति तयार पार्न एनसीसी तालिम उपयोगी हुनेछ । तालिमबाट विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, शारीरिक तथा मानसिक दक्षता र सामाजिक उत्तरदायित्वको भावना विकास हुने अपेक्षा गरिएको छ ।
कुल १०० दिन सञ्चालन हुने तालिममा ८९ दिन संस्थागत (इन–हाउस) तालिम र ११ दिन वार्षिक सामूहिक क्याम्प सञ्चालन गरिनेछ । तालिम अवधिमा क्याडेटहरूलाई एफसीबीसी (FCBC), नक्सा अध्ययन, विपद् व्यवस्थापन, ड्रिल, तेक्वान्दो, एरोबिक्सलगायत विभिन्न साहसिक तथा व्यावहारिक गतिविधिसम्बन्धी प्रशिक्षण दिइनेछ । तालिममा सहभागी विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासमा समेत सहभागी गराइने भएकाले उनीहरूको शारीरिक क्षमता, अनुशासन, नेतृत्व कौशल तथा आपत्कालीन अवस्थामा काम गर्ने क्षमतामा अभिवृद्धि हुने विश्वास गरिएको छ ।
हरि खेतान बहुमुखी कलेजले विद्यार्थीको शैक्षिक विकाससँगै अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले एनसीसी कार्यक्रमलाई महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ । तालिम पूरा गरेपछि क्याडेटहरूमा राष्ट्रसेवा, सामाजिक सेवा तथा विपद् व्यवस्थापनमा योगदान पुर्याउने क्षमता थप विकास हुने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया दिनुहोस् !