जनकपुरधाम (धनुषा), ३ भदौ । जिल्ला प्रहरी कार्यालय धनुषाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण र नागरिक सहायताका क्षेत्रमा सक्रियता बढाएको जनाएको छ । प्रहरीका अनुसार साउनमा धनुषामा विभिन्न प्रकृतिका १३४ वटा अपराधसम्बन्धी घटना दर्ता भएका छन् । तीमध्ये ज्यानसम्बन्धी एक, चोरी आठ, आत्महत्यासम्बन्धी छ, संगठित तथा आर्थिक अपराध ३१, सामाजिक अपराध ३२, महिला तथा बालबालिकासम्बन्धी १० र सवारी ज्यानसम्बन्धी ३९ वटा घटना छन् ।
प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार अपराध नियन्त्रणका लागि दैनिक गस्ती, नियमित चेकजाँच, सीमा क्षेत्रमा भारतीय समकक्षी निकायसँग समन्वय तथा अपराधको स्वरूप विश्लेषण गरी लक्षित सुरक्षा योजना कार्यान्वयन गरिएको छ । साउनमा चालु मुद्दाका ८७ जना प्रतिवादी पक्राउ परेका छन्। धनुषामा चालु मुद्दातर्फ १ हजार २७९ जना प्रतिवादी पेन्डिङमा रहेकामा १४० वटा मुद्दा फछ्र्योट भएको प्रहरीको तथ्यांक छ । फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले १९० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट अदालतले तोकेको ८८ वर्ष २१ दिन कैद तथा २४ लाख ३० हजार १७८ रुपैयाँ जरिवाना कार्यान्वयनका लागि सहयोग पुगेको प्रहरीले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १०५ वटा उजुरी साउनमा परेका छन् । तीमध्ये घरेलु हिंसासम्बन्धी १०५ उजुरीमध्ये उपमहानगरपालिकाबाट ४४, नगरपालिकाबाट ४३ र गाउँपालिकाबाट १८ वटा रहेका छन् । प्रहरीले ९५ वटा उजुरीमा मिलापत्र गराएको जनाएको छ । प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा ७६८ वटा ठाडो उजुरी परेकामा ४७५ वटा फछ्र्योट भएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आएका ३३ उजुरीमध्ये १७ वटा फछ्र्योट भएका छन् । दुवै जोड्दा ८०१ उजुरीमध्ये ४९२ वटा फछ्र्योट भएको प्रहरीको तथ्यांक छ ।
लागूऔषध नियन्त्रणमा १९ किलोभन्दा बढी गाँजा बरामद
धनुषा प्रहरीले साउनमा लागूऔषध नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । यस अवधिमा १९ किलो ३९८ ग्राम गाँजा र १३५ दशमलव ४४६ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरिएको छ । विभिन्न औषधिजन्य लागूऔषधसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रवक्ता न्यौपानेले लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि नियमित निगरानी, सीमा क्षेत्रमा विशेष चेकजाँच र सूचनाका आधारमा कारबाहीलाई तीव्रता दिइएको बताए ।
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
साउनमा धनुषामा ८७ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा पाँच जनाको मृत्यु र १४५ जना घाइते भएका छन् । ती दुर्घटनामा १३१ वटा सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको कारण २३, यात्रु तथा सवारको कारण ४४, पैदलयात्रीको कारण एक र सडकको अवस्थाका कारण १८ वटा दुर्घटना भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ६११ वटा सवारीसाधनलाई कारबाही गरी ६ लाख ८७ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ ।
भन्सार छली र प्राकृतिक स्रोत दोहनमा कारबाही
अवैध भन्सार छली नियन्त्रणअन्तर्गत साउनमा करिब ४१ लाख ६६ हजार १४० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । सो क्रममा दुई जना पक्राउ परेका छन् । अवैध हातहतियारतर्फ भने कुनै हतियार बरामद नभएको प्रहरीले जनाएको छ । प्राकृतिक स्रोत दोहन नियन्त्रणतर्फ २६ वटा ट्र्याक्टर नियन्त्रणमा लिएर १ लाख ३० हजार रुपैयाँ जरिवाना गरिएको छ । अवैध मदिरा नियन्त्रणअन्तर्गत ४१५ लिटर मदिरा बरामद गरी दुई जनालाई पक्राउ गरिएको छ ।
विपद्मा १६१ प्रहरी परिचालन
साउनमा धनुषामा आगलागी, करेन्ट लाग्ने, पानीमा डुब्ने लगायतका २३ वटा विपद्जन्य घटना भएका छन् । ती घटनामा नौ जनाको मृत्यु र ११ जना घाइते भएका छन् भने प्रहरीले ११ जनाको उद्धार गरेको जनाएको छ । विपद् व्यवस्थापनका लागि १६१ जना प्रहरी परिचालन गरिएको थियो । आगलागीबाट करिब २ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
एक महिनामा २८ हजारभन्दा बढी पटक प्रहरी परिचालन
शान्ति सुरक्षा कायम गर्न धनुषा प्रहरीले साउनमा मोबाइल, पैदल तथा ग्रामीण गस्ती, चेकिङ र पिकेटिङलगायतका गतिविधिमा २८ हजार २१९ पटक जनशक्ति परिचालन गरेको जनाएको छ । बन्द, हड्ताल, चक्काजाम, आन्दोलन, मेला, पर्व तथा जात्रालगायत विशेष परिस्थितिमा थप १ हजार ४८५ जना प्रहरी परिचालन गरिएको थियो ।
नागरिक सहायता र जनचेतनामा जोड
प्रहरीले लागूऔषध, आत्महत्या, साइबर अपराध, ट्राफिक सचेतना, बालविवाह तथा महिला हिंसालगायत विषयमा समुदाय र विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ । समुदाय केन्द्रित ६३ वटा कार्यक्रमबाट १ हजार ५९४ जना लाभान्वित भएका छन् । विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रममा ४७२ जना विद्यार्थी सहभागी भएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयको हटलाइन तथा डिआईजी कार्यालयको सम्पर्क नम्बरमा साउनमा ६ हजार ५२५ वटा कल आएको र नागरिक सहायता कक्षबाट ८ हजार ८७९ सेवाग्राहीले सेवा लिएको प्रहरीको तथ्यांक छ ।
प्रवक्ता न्यौपानेले अपराध अनुसन्धानसँगै नागरिकसँग प्रहरीको सम्बन्ध सुदृढ गर्ने, पीडितको अवस्था बुझ्ने र समुदायमा आधारित प्रहरी कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको बताए । उनका अनुसार अनुचित लेनदेनसम्बन्धी तीनवटा निवेदनमा मिलापत्र गराइएको छ भने १३ लाख ८५ हजार रुपैयाँ बराबरको रकम तथा घरजग्गा फिर्ता गराउन प्रहरी सफल भएको छ । प्रहरीले आगामी दिनमा सीमा अपराध, लागूऔषध, चोरी, सवारी दुर्घटना, महिला तथा बालबालिकामाथि हुने हिंसा र साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै नियमित निगरानी र समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !