कलैया (बारा), २ भदौ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले मंगलबार बाराको सिमरामा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले नागरिकको हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ ।
विद्युत् महसुलमा लगाइएको कर हटाउनुपर्ने मागलाई जनस्तरसम्म पुर्याउँदै सरकारलाई निर्णय गर्न दबाब दिने उद्देश्य रहेको पार्टीको भनाइ छ । उज्यालो नेपालले विद्युत् महसुलमा लगाइएको भ्याट खारेज गर्नुका साथै डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखि रोकिएको बक्यौता रकम तत्काल असुल गर्न सरकारसँग माग गरेको छ ।
बक्यौता असुलीमा सरकारले आलटाल गरिरहेको आरोप लगाउँदै पार्टीले जनताको आवाजलाई एकीकृत गरी सरकारलाई जवाफदेही बनाउन अभियान अघि बढाइएको जनाएको छ । विद्युत् राजस्व सङ्कलनको माध्यम मात्र नभई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको प्रमुख आधार भएकाले विद्युत्मा लगाइएका अनावश्यक कर हटाउनुपर्ने पार्टीको तर्क छ ।
विद्युतलाई सस्तो, सहज र प्रतिस्पर्धी बनाउन भ्याट पूर्ण रूपमा खारेज गर्नुपर्ने माग गरिएको छ । सरकारले विद्युत् खपतलाई प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा उल्टै नागरिकमाथि करको भार थपेको भन्दै उज्यालो नेपालले विरोध जनाएको छ । पार्टीले विद्युत्को भ्याट खारेजी र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुलीसँगै स्वदेशी विद्युत् खपत बढाउनुपर्ने मागसमेत अघि सारेको छ ।
इन्डक्सन चुलोको वितरण तथा प्रयोगलाई प्रोत्साहन गर्न र खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन पनि सरकारसँग आग्रह गरिएको छ । हस्ताक्षर संकलन अभियानमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अर्जुन शर्मा, केन्द्रीय सदस्य रोशन अधिकारी, मधेस प्रदेश अध्यक्ष राम सिंह (पराग), जिल्ला सदस्य नवीन लामा, सरिता लामालगायतको उपस्थिति थियो ।







प्रतिक्रिया दिनुहोस् !