काठमाडौँ, ३१ साउन । देशलाई वर्तमान संकटबाट निकास दिन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेको निष्कर्षसहित जेनजी अगुवाहरूले आन्दोलन पुनर्गठनको घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले जेनजी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने घोषणा गर्दै आगामी भदौ २३ गते सरकारविरुद्ध खबरदारी र्यालीसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेका हुन् । ‘कमन जेनजी नेपाल’को आयोजनामा भएको जेनजी संवाद कार्यक्रममा सहभागी अभियन्ताहरूले यसअघिको जेनजी आन्दोलनको समीक्षा गर्दै राज्यको भूमिकाप्रति तीव्र असन्तुष्टि व्यक्त गरे ।
युवा पुस्ताले उठाएका माग र आन्दोलनका क्रममा भएका घटनाप्रति राज्य गम्भीर बन्न नसकेको आरोप लगाउँदै उनीहरूले अब चुप लागेर बस्ने अवस्था नरहेको बताए । कार्यक्रममा बोल्दै कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले भदौ २३ गते सरकारलाई खबरदारी गर्दै ज्ञापनपत्र बुझाउने बताए ।जेनजी आन्दोलनका क्रममा पीडित बनेकाहरूलाई न्याय दिलाउन सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उनको भनाइ थियो । साहले राज्यले युवाको धैर्यतालाई कमजोरीका रूपमा बुझ्न थालेको आरोप लगाउँदै अब त्यसको प्रतिवाद आवश्यक रहेको बताए । उनका अनुसार जेनजी आन्दोलनका मूल माग सम्बोधन नभएसम्म आन्दोलनलाई पुनर्गठन गरेर अघि बढाइनेछ ।
‘जेनजीका हत्यारालाई कारबाही गर, होइन भने कुर्सी छोड’
पत्रकार सम्मेलनमा साहले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि गठित आयोगको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही गर्न सरकार असफल भएको आरोप लगाए । जेनजी आन्दोलनमा मृत्यु भएका तथा पीडित बनेकाहरूले न्याय पाउनुपर्ने भन्दै उनले सरकारलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन चुनौती दिए । उनले सरकारप्रति कडा आक्रोश व्यक्त गर्दै भने, ‘जेनजीका हत्यारालाई कारबाही गर, होइन भने कुर्सी छोड ।’
साहका अनुसार वर्तमान सरकारले जेनजी आन्दोलनका पीडितलाई न्याय दिलाउने सवालमा अपेक्षित काम गर्न सकेको छैन । छानविन आयोगको प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा दोषीमाथि कारबाही प्रक्रिया अघि नबढ्नु गम्भीर विषय भएको उनको भनाइ छ । उनले सरकारलाई प्रश्न गर्दै आन्दोलनका क्रममा उठाइएका माग सम्बोधन गर्न कुन शक्तिले रोकिरहेको छ भन्ने स्पष्ट पार्नसमेत माग गरे ।
सुशासनदेखि राज्य संरचनाको आमूल परिवर्तनसम्म
जेनजी आन्दोलन केवल तत्कालीन असन्तुष्टि व्यक्त गर्ने अभियान नभएको साहले बताए । उनका अनुसार आन्दोलनको मूल उद्देश्य सुशासन स्थापना, रोजगारी सिर्जना, भ्रष्टाचारमा संलग्नलाई कारबाही तथा राज्यको संरचनामै आमूल परिवर्तन गर्नु थियो । तर ती माग पूरा गर्ने दिशामा सरकार पूर्ण रूपमा असफल भएको उनको आरोप छ ।
‘जेनजी आन्दोलनका नाममा सम्झौता गर्नेहरू र राज्य सञ्चालनको जिम्मेवारी लिएकाहरूसँग अब प्रश्न गर्ने समय आएको छ,’ साहले भनेका छन् । आन्दोलनका मागमाथि सम्झौता गरेर त्यसको भावना कमजोर पारिएको हो कि होइन भन्ने विषयमा समेत उनले नेतृत्वसँग जवाफ मागेका छन् । उनले जेनजी आन्दोलनका क्रममा उठेका प्रश्नलाई बेवास्ता गरेर राज्य अगाडि बढ्न नसक्ने दाबी गरे ।
‘राज्य विघटनतर्फ उन्मुख छ’
साहले वर्तमान अवस्थामा राज्यप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको दाबी गरेका छन् । राज्यप्रतिको अविश्वास बढ्दै जानु देशका लागि गम्भीर संकटको संकेत भएको उनको भनाइ छ । नेपालको गौरव बढाउन सफल भएको दाबी गरिएको जेनजी आन्दोलनको सम्मान जोगाउन, देशको अस्तित्व रक्षा गर्न र राज्य संरचनामा आवश्यक परिवर्तन ल्याउन सरकार गम्भीर बन्नुपर्ने उनले बताए । उनका अनुसार सरकारसँग अब आन्दोलनका मागलाई टार्नेभन्दा समाधानतर्फ अघि बढ्ने अवसर छ । अन्यथा जेनजी आन्दोलन थप संगठित र व्यापक बन्ने चेतावनी उनले दिएका छन् ।
भदौ २३ मा शक्ति प्रदर्शन
कमन जेनजी नेपालले भदौ २३ गते गर्ने कार्यक्रमलाई आगामी आन्दोलनको पहिलो महत्वपूर्ण चरणका रूपमा अघि सारेको छ । अध्यक्ष साहले देशमा आमूल परिवर्तन चाहने जेनजी संगठन तथा अभियन्ता, विभिन्न राजनीतिक दलका अग्रगामी नेता, सक्रिय राजनीतिक तथा सामाजिक शक्ति, नागरिक समाज र युवाहरूलाई एक ठाउँमा उभिन आह्वान गरेका छन् । उनले वर्तमान परिस्थितिबाट देशलाई निकास दिन जेनजी आन्दोलनलाई पुनर्गठन गरेर अघि बढ्ने बताए ।उनको भनाइअनुसार भदौ २३ गते सरकारलाई खबरदारीसहित ज्ञापनपत्र बुझाइनेछ । त्यसपछि पनि सरकारले जेनजीका मागलाई बेवास्ता गरे दोस्रो चरणको आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ ।
आन्दोलन ‘रहर होइन, बाध्यता’
पत्रकार सम्मेलनमा सहभागी अन्य जेनजी अभियन्ताहरूले समेत सरकारले आन्दोलनका माग सम्बोधन नगरेकाले फेरि सडकमा उत्रनुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । उनीहरूले आगामी भदौ २३ गते सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रमलाई आन्दोलनको बाध्यात्मक कदमका रूपमा व्याख्या गरे । उनीहरूका अनुसार युवा पुस्ताले परिवर्तनको माग उठाउँदा राज्यले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा बेवास्ता गरिरहेको छ । ‘आन्दोलन हाम्रो रहर होइन, बाध्यता हो’ भन्ने धारणा राख्दै उनीहरूले परिवर्तन चाहने सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन् ।
एउटै मञ्चमा विभिन्न जेनजी अभियन्ता
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रवि किरण हमाल, सौरव भण्डारी, कृष्ण मोहन सहनी, दिपेन्द्र विक, अमृत बोहरा, अभिनव वाग्ले, उज्वल शर्मा, रोनिश साहलगायत विभिन्न जेनजी संगठनको नेतृत्वमा रहेका अभियन्ताहरू सहभागी थिए । विभिन्न समूह र संगठनमा सक्रिय रहेका अभियन्ताहरूले संयुक्त रूपमा भदौ २३ गते सरकारलाई खबरदारीसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम अघि सारेका हुन् । यसलाई जेनजी आन्दोलनलाई पुनः संगठित र संयुक्त रूपमा अगाडि बढाउने प्रयासका रूपमा उनीहरूले प्रस्तुत गरेका छन् ।
सरकारसामु बढ्दो दबाब
जेनजी अगुवाहरूको पछिल्लो घोषणाले सरकारमाथि राजनीतिक तथा सामाजिक दबाब थपिने संकेत गरेको छ । आन्दोलनका क्रममा उठेका माग, पीडितलाई न्याय, दोषीमाथि कारबाही, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र राज्य संरचनामा परिवर्तनजस्ता मुद्दा फेरि सडकमा उठाउने तयारी उनीहरूले गरेका छन् । अब सरकारका लागि मुख्य चुनौती भदौ २३ गते हुने खबरदारी र्याली मात्र होइन, जेनजी आन्दोलनले उठाएका मूल प्रश्नलाई कसरी सम्बोधन गर्ने भन्ने बनेको छ ।
जेनजी अगुवाहरूले स्पष्ट संकेत दिएका छन् ‘सरकारले माग सम्बोधन नगरे आन्दोलन रोकिने छैन ।’ भदौ २३ गतेको खबरदारी र्यालीपछि सरकारको प्रतिक्रिया र त्यसले लिने निर्णयले जेनजी आन्दोलनको आगामी दिशा निर्धारण गर्ने देखिन्छ । माग सम्बोधन भए संवाद र समाधानको बाटो खुल्न सक्छ । बेवास्ता गरिए दोस्रो चरणको आन्दोलन सुरु गर्ने चेतावनी जेनजी नेतृत्वले दिइसकेको छ ।यससँगै नेपालको युवा आन्दोलन फेरि सडकमा फर्किने संकेत देखिएको छ । अबको आन्दोलन कति व्यापक हुन्छ, कति संगठित हुन्छ र सरकारको प्रतिक्रिया कस्तो रहन्छ भन्ने कुरा भने आगामी दिनले निर्धारण गर्नेछ ।







प्रतिक्रिया दिनुहोस् !