गौर (रौतहट), २१ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिकै पेट्रोल बोकेको एक ट्याङ्कर दुर्घटनापछि आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ । बिहीबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा अचानक आएको मृगलाई बचाउन खोज्दा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो ।
दुर्घटनालगत्तै ट्याङ्करमा बोकेको इन्धनका कारण अचानक भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त गौतमले जानकारी दिए । घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सत्यनारायण थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेन्द्र थापा मगरको नेतृत्वमा १५ जनाको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
त्यसपछि चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट आएका दुईवटा दमकलको सहयोगमा बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा ध्वस्त भए पनि सौभाग्यवश कुनै मानवीय क्षति भने भएको छैन ।







प्रतिक्रिया दिनुहोस् !