वीरगंज (पर्सा), २१ साउन । चालकले मादक पदार्थ सेवन गरि चलाएको भारतीय ग्यास ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् । वीरगंज महानगरपालिका–२४ बहुअरी चोकनजिकै हुलाकी सडकखण्डमा बुधबार राति करिब ८ः०० बजे दुर्घटना भएको हो ।
पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको, ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको आर.जे. १४ जी.ई. ८७१० नम्बरको ग्यास ट्याङ्करले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनालगत्तै ट्याङ्कर र चालक घटनास्थलबाट फरार भएका थिए । दुर्घटनामा परेर ई–रिक्सामा सवार ९ जना नै घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धार गरी सबै घाइतेहरूलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ । दुर्घटना गराएर फरार भएको ट्याङ्कर र त्यसका चालकलाई प्रहरी घटनाको केही समय पछि नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने चालक भारतको मुजफ्फरपुर जिल्ला, साहेबगञ्जका ४८ वर्षीय धनेश्वर राय रहेका छन् । स्वास्थ्य परीक्षण गर्दा चालक रायले अत्यधिक मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पुष्टि भएको छ ।







प्रतिक्रिया दिनुहोस् !