वीरगंज (पर्सा), १३ साउन । वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि-स्कुलले गुरु पूर्णिमा (शिक्षक सम्मान दिवस) विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । गुरु–शिष्य परम्पराको महत्व उजागर गर्दै विद्यार्थीहरूमा शिक्षकप्रतिको सम्मान, कृतज्ञता, अनुशासन र नैतिक मूल्यको विकास गर्ने उद्देश्यले विद्यालयले विशेष कार्यक्रम आयोजना गरेको हो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्ना गुरुहरूप्रति सम्मान व्यक्त गर्दै टीका लगाइदिने, पुष्पगुच्छा तथा उपहार अर्पण गर्ने, आशीर्वाद लिने र धन्यवाद मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम गरेका थिए । यस अवसरमा विद्यार्थीहरूले गीत, नृत्य, कविता तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित शिक्षक तथा अभिभावकहरूको मन जितेका थिए । कार्यक्रमले विद्यालय परिसरमा उत्साह, सम्मान र आत्मीयताको वातावरण सिर्जना गरेको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल विजय कुमार बल, मिडिया संयोजक दिपु कुमार वर्णवाल, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल विजय कुमार बलले गुरुको सम्मान गर्नु नेपाली संस्कृति र सभ्यताको अभिन्न हिस्सा भएको उल्लेख गर्दै शिक्षकले केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई विद्यार्थीको चरित्र, संस्कार र भविष्य निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले विद्यार्थीहरूलाई गुरुको सम्मान गर्दै अनुशासित, नैतिकवान् र परिश्रमी भई जीवनमा सफलता हासिल गर्न प्रेरित गरे ।
त्यसैगरी, विद्यालयका मिडिया संयोजक दिपु कुमार वर्णवालले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा शिक्षकप्रतिको सम्मान, कृतज्ञता, आत्मविश्वास, नेतृत्व क्षमता तथा सिर्जनशील सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यालयले गुणस्तरीय शिक्षासँगै नैतिक शिक्षा, संस्कार र व्यक्तित्व विकासलाई समान प्राथमिकतामा राखेर विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे ।
कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले सहभागी सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेको थियो । विद्यालयका अनुसार गुरु पूर्णिमाजस्ता कार्यक्रमले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै सम्मान, संस्कार र सकारात्मक शिक्षण संस्कृतिलाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
यस वर्षको कार्यक्रम विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता, आकर्षक सांस्कृतिक प्रस्तुति र आत्मीय वातावरणका कारण विशेष रूपमा सफल, स्मरणीय र प्रेरणादायी बनेको विद्यालयले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !