चितवन, २ साउन । अविरल वर्षा र सम्भावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडकखण्ड तथा काठमाडौं जोड्ने पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाएको छ । शनिबार साँझ जारी गरिएको सूचनामा धादिङसहित छिमेकी जिल्ला तथा चितवनका विभिन्न क्षेत्रमा वर्षा सुरु भइसकेको र वर्षा अझै तीव्र हुने मौसम पूर्वानुमान रहेकाले रातिको समयमा यात्रा गराउँदा हुन सक्ने दुर्घटना तथा पहिरोजन्य जोखिमलाई ध्यानमा राखेर यो निर्णय गरिएको उल्लेख गरिएको छ ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै सवारी साधन सुरक्षित स्थानमा पार्क गरी सुरक्षित रूपमा बस्न अनुरोध गरेको छ । साथै आवश्यक सूचना, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायसँग सम्पर्कमा रहन पनि आग्रह गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार भरतपुरबाट काठमाडौंतर्फ जाने सवारी साधनलाई केन्द्रीय बसपार्क, आँपटारी, रामनगर, जुगेडीलगायतका सुरक्षित स्थानमा रोक्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, काठमाडौंबाट पोखरा तथा नारायणगढतर्फ आउने सवारी साधनलाई मुग्लिन र कुरिनटार क्षेत्रमा तथा पोखराबाट चितवनतर्फ आउने सवारीलाई तनहुँका विभिन्न सुरक्षित स्थानमा रोक्ने समन्वय गरिएको उनले जानकारी दिए । यस्तै, पूर्वी नवलपरासीबाट आउने सवारी साधनलाई गैँडाकोट, भेडाबारी, थुम्सीलगायतका क्षेत्रमा व्यवस्थित रूपमा राख्ने तयारी गरिएको छ । राजमार्ग बन्द गरिएको सूचना सामाजिक सञ्जाल, प्रहरीका चेकपोस्ट तथा सम्बन्धित निकायमार्फत निरन्तर प्रवाह भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोको उच्च जोखिम भएका क्षेत्रमा कुनै पनि सवारी साधन नरोक्ने नीति अपनाइएको छ । त्यसैले राति १० बज्नुअघि नै सबै सवारी साधनलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ ।







प्रतिक्रिया दिनुहोस् !