वीरगंज (पर्सा), २ साउन । मनसुन सक्रिय भएसँगै सम्भावित बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि वीरगंज महानगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ । यसै सन्दर्भमा कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको अध्यक्षतामा शनिबार नगर विपद् व्यवस्थापन मूल समितिको आकस्मिक बैठक बसेर विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने विभिन्न निर्णय गरिएको छ ।
कार्यवाहक नगरप्रमुखको सचिवालयमा सम्पन्न बैठकले मनसुनजन्य जोखिम न्यूनीकरण, स्थलगत अनुगमन, स्वास्थ्य सेवा व्यवस्थापन तथा वडा तहसम्मको तयारीलाई सुदृढ बनाउने विषयमा विस्तृत छलफल गर्दै आवश्यक कार्ययोजना तय गरेको हो । बैठकले मनसुन सुरु भइसकेको अवस्थालाई ध्यानमा राख्दै विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, उपकरण तथा अन्य स्रोत–साधनलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । साथै मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीसँग निरन्तर समन्वय गर्दै सम्भावित जोखिमको समयमै सामना गर्ने रणनीति अवलम्बन गरिने जनाइएको छ ।
मनसुनका कारण महानगरका केही क्षेत्रमा समस्या देखिन थालेको उल्लेख गर्दै बैठकले तत्काल स्थलगत अनुगमन टोली परिचालन गर्ने निर्णयसमेत गरेको छ । उक्त टोलीले प्रभावित क्षेत्रको निरीक्षण गरी जोखिमको मूल्याङ्कन गर्ने, समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा आवश्यक परे राहत वितरणको पूर्वतयारीसमेत गर्नेछ ।
विपद्को समयमा स्वास्थ्य सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा उपचार सेवाको पर्याप्त व्यवस्था मिलाइने निर्णय गरिएको छ । सम्भावित महामारी वा विपद्पछिका स्वास्थ्य जटिलतालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने र आवश्यक समन्वयका लागि सम्बन्धित निकायसँग पत्राचार गरिने पनि बैठकले निर्णय गरेको छ ।
त्यसैगरी महानगरका सबै वडा कार्यालयलाई आफ्नो क्षेत्रमा सम्भावित जोखिमको पूर्वविश्लेषण गरी उद्धार, राहत र आपत्कालीन व्यवस्थापनका सम्पूर्ण तयारीसहित उच्च सतर्कतामा रहन निर्देशन दिने निर्णय गरिएको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, अवधेशप्रसाद कुशवाहा, हरिशंकरप्रसाद कुर्मी, राकेश साह, विभा मिश्रा, सफुदिन मियाँ, हरिप्रसाद भुसाल तथा महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राजुप्रसाद साहलगायतको सहभागिता रहेको थियो ।
वीरगंज महानगरपालिकाले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनतममा सीमित गर्दै नगरवासीको जनधनको सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !