वीरगंज (पर्सा), ३० असार । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले नगरवासीको सुरक्षा, सेवा प्रवाह तथा वर्षायाममा उत्पन्न हुन सक्ने आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै नगरप्रहरीलाई चौबिसै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । मंगलबार महानगरपालिकामा आयोजित नगरप्रहरीको रोलकल (हाजिरी तथा निरीक्षण) कार्यक्रममा कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले संयुक्त रूपमा नगरप्रहरीलाई जिम्मेवारीप्रति थप सक्रिय, अनुशासित र नागरिकमैत्री भएर काम गर्न आग्रह गरेका हुन् ।
महानगरले सञ्चालन गरिरहेको सडक विस्तार अभियान तथा वर्षायामका चुनौतीका कारण नगरप्रहरीको जिम्मेवारी अझ बढेको भन्दै उनीहरूलाई हरसमय सेवामा खटिन निर्देशन दिइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आलमले अहिले वीरगञ्जका नागरिक विभिन्न समस्यासँग जुधिरहेको उल्लेख गर्दै नगरप्रहरी जनताको पहिलो भरोसाको सुरक्षा संयन्त्रका रूपमा प्रस्तुत हुनुपर्ने बताए । उनले भने, ‘सडक विस्तारका कारण सहरको आवागमन प्रभावित भएको छ । नाला व्यवस्थापनदेखि ट्राफिक सञ्चालनसम्म नागरिकले दैनिक कठिनाइ भोगिरहेका छन् । वर्षायामले थप जोखिम सिर्जना गरेको छ । यस्तो अवस्थामा नगरप्रहरी २४सै घण्टा तयारी अवस्थामा रहेर नागरिकको सेवामा समर्पित हुनुपर्छ ।’
प्रमुख प्रशासकीय अधिकृत बोहराले सीमित स्रोत–साधनका बाबजुद नगरप्रहरीले सार्वजनिक सम्पत्तिको संरक्षण, नगरवासीको सुरक्षा तथा शान्ति–व्यवस्था कायम गर्ने दायित्व प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए । आवश्यक उपकरण र सामग्रीको अभाव हटाउन महानगरपालिकाले चाँडै आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले कर्मचारी संयन्त्रमा अनुशासन, जिम्मेवारीबोध र ‘चेन अफ कमान्ड’को पूर्ण पालना अनिवार्य रहेको स्पष्ट पार्दै सेवा प्रवाहमा कुनै प्रकारको लापरबाही स्वीकार्य नहुने चेतावनी दिए ।
बोहराले भने, ‘नगरप्रहरीका सबै अभिलेख अध्ययन गरेको छु। करार, अस्थायी वा स्थायी जुनसुकै हैसियतका कर्मचारी भए पनि जिम्मेवारी समान हुन्छ । सबैले अनुशासित, इमान्दार र उत्तरदायी भएर काम गर्नुपर्छ। भविष्यमा अनुशासन उल्लंघन गर्ने जोसुकैमाथि कानुनअनुसार कारबाही हुनेछ ।’ महानगरपालिकाका अनुसार कार्यक्रममा नगरप्रहरीसँग सम्बन्धित गुनासोहरू न्यूनीकरण गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, सडक विस्तार अभियानमा आवश्यक सहजीकरण गर्ने तथा आगामी गहवामाई रथयात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन विशेष सुरक्षा तयारी गर्नसमेत निर्देशन दिइएको छ ।







प्रतिक्रिया दिनुहोस् !