वीरगंज (पर्सा), २८ असार । वीरगंज महानगरपालिका–७ रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ रहेको सार्वजनिक सडक करिब दुई महिनादेखि अवरुद्ध रहँदा स्थानीय बासिन्दाको दैनिक जीवन कष्टकर बनेको छ । निजी बंगला निर्माणका क्रममा सार्वजनिक बाटो र नाला बन्द गरिएपनि महानगरपालिकाले समयमै हस्तक्षेप नगरेको भन्दै स्थानीयले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले तत्काल सडक सञ्चालनमा नल्याइए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
स्थानीयका अनुसार नेपाल तथा भारतसहित विभिन्न मुलुकमा व्यापार गर्दै आएका व्यवसायी निरञ्जन चौधरीले आफ्नै बंगला निर्माणका क्रममा सार्वजनिक बाटो अवरुद्ध गराएका हुन् । निर्माण कार्यका बेला प्रयोग गरिएको डोजरले सडकसँगै नाला समेत भत्काएपछि आवागमन पूर्ण रूपमा प्रभावित भएको थियो । त्यसयता सडक पुनः सञ्चालनमा ल्याउने विषयमा कुनै प्रभावकारी पहल नहुँदा सर्वसाधारणले अनावश्यक सास्ती खेप्न बाध्य भएका छन् ।
घटनापछि स्थानीयको विरोध चर्किएपछि वीरगंज महानगरपालिकाको नगर प्रहरीको रोहबरमा ३५ दिनभित्र सडकलाई पूर्ववत् अवस्थामा पुनःनिर्माण गर्ने सहमति भएको थियो । सम्भावित दुर्घटना रोक्न भन्दै अस्थायी रूपमा बाटो बन्द गरिएको भएपनि सहमतिको अवधि सकिएको झण्डै एक महिना बितिसक्दा पनि सडक पुनः सञ्चालनमा आउन सकेको छैन ।
स्थानीयको आरोप अनुसार सहमति कार्यान्वयन गराउने दायित्व महानगरपालिकाको भएपनि सम्बन्धित निकायले उदासीनता देखाएको छ । वडा नं. ७ का जनप्रतिनिधि, महानगरपालिकाका केही कर्मचारी तथा प्रभावशाली व्यक्तिहरूको संरक्षणका कारण सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमणलाई मौन समर्थन गरिएको आरोप समेत उनीहरूले लगाएका छन् । केही स्थानीयले यस प्रकरणमा आर्थिक चलखेल भएको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
सडक मात्रै होइन, नालाको प्राकृतिक निकाससमेत बन्द हुँदा समस्या झन् जटिल बनेको छ । सामान्य वर्षा हुँदा समेत पानी निकास हुन नसकी टोल डुबानमा पर्न थालेको स्थानीयको भनाइ छ । शुक्रबार राति परेको सामान्य वर्षापछि वर्षाको पानी घर–घरमा पस्न थालेपछि स्थानीयवासीको आक्रोश थप चुलिएको थियो । उनीहरूका अनुसार समयमै नाला सञ्चालन गरिएको भए यस्तो अवस्था सिर्जना हुने थिएन । डुबानको समस्यापछि शनिबार बिहान आक्रोशित स्थानीय निर्माणस्थलमै पुगेका थिए ।
निर्माणधनीसँग प्रत्यक्ष संवाद गर्न खोज्दा उनी सम्पर्कमा नआएपछि स्थानीयले वीरगंज महानगरपालिकाका कार्यवाहक मेयर इतेयाज आलम तथा वडा नं. ७ का वडा अध्यक्ष हिराकाजी महर्जनसँग तत्काल हस्तक्षेप गरी सार्वजनिक बाटो खुलाउन माग गरेका थिए । विवाद बढेपछि महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँ, नगर प्रहरी प्रमुख हरि भुसाल र वडा अध्यक्ष हिराकाजी महर्जन घटनास्थल पुगेका थिए । तर निरीक्षणका क्रममा पनि सार्वजनिक सडक कहिले सञ्चालनमा आउने, नाला कहिलेसम्म पुनःनिर्माण हुने वा सहमति उल्लंघन गर्ने पक्षमाथि के कारबाही हुने भन्ने विषयमा कुनै स्पष्ट निर्णय सार्वजनिक नगरिएको भन्दै स्थानीय असन्तुष्ट छन् ।
स्थानीयवासीको भनाइमा सार्वजनिक बाटो कुनै निजी व्यक्तिको स्वामित्वमा रहने विषय होइन । त्यसैले निजी निर्माणको नाममा सार्वजनिक सडक र नाला अवरुद्ध हुनु कानुनी शासनमाथिकै चुनौती भएको उनीहरूको तर्क छ । महानगरपालिकाकै रोहबरमा भएको लिखित सहमति कार्यान्वयन गराउन नसक्नुले स्थानीय सरकारको कार्यक्षमता र प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ । स्थानीयले सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण तत्काल हटाई सडक र नालालाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न, सहमति उल्लंघन गर्ने पक्षमाथि कानुनी कारबाही गर्न तथा यस प्रकरणमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् । यद्यपि, समाचार तयार पार्दासम्म निर्माणधनी निरञ्जन चौधरी तथा वीरगंज महानगरपालिकाले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।







प्रतिक्रिया दिनुहोस् !