वीरगंज (पर्सा), २८ असार । वीरगंज महानगरपालिका–१६ नगवास्थित ‘नहरको सडक’ वर्षौंदेखिको सरकारी बेवास्ताको प्रतीक बनेको छ । सामान्य वर्षा हुनासाथ सडक घुँडासम्म पानीले भरिने, हिलो र जलमग्न अवस्थाका कारण दैनिक आवतजावत नै कष्टकर बन्ने गरेको भन्दै स्थानीयले जनप्रतिनिधि र महानगरपालिकाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
नगवा पोखरीदेखि करिब एक सय मिटर पूर्व हुँदै दक्षिणतर्फ जाने उक्त सडक विगत लामो समयदेखि मर्मत तथा स्तरोन्नति हुन नसक्दा स्थानीय बासिन्दाले दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका हुन् । विशेषगरी नगवा नयाँ बस्तीका सर्वसाधारण, विद्यार्थी, वृद्धवृद्धा, बिरामी तथा कामकाजी नागरिक सबैभन्दा बढी प्रभावित भएका छन् । सामान्य वर्षा हुँदा पनि सडक पूर्ण रूपमा जलमग्न हुने भएकाले पैदल हिँड्नेदेखि मोटरसाइकल र साना सवारी सञ्चालन गर्नसमेत कठिन हुने गरेको स्थानीयहरूको गुनासो छ ।
स्थानीयका अनुसार करिब १५ वर्षअघि ग्राभेल गरिएको उक्त सडक त्यसयता प्रभावकारी रूपमा मर्मत गरिएको छैन । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै सडक हिलाम्मे र जलमग्न हुने समस्या दोहोरिने गरेपनि सम्बन्धित निकायले स्थायी समाधानतर्फ कुनै चासो नदेखाएको आरोप उनीहरूको छ ।
स्थानीयवासीहरूले वडा कार्यालय तथा वीरगंज महानगरपालिकामा पटक–पटक सडक मर्मतका लागि आग्रह गरेपनि कुनै सुनुवाइ नभएको बताएका छन् । वर्षौंदेखि एउटै समस्या दोहोरिँदा पनि न त सडक निर्माणको योजना अघि बढेको छ, न त अस्थायी रूपमा नै आवतजावत सहज बनाउने पहल गरिएको छ । यसले स्थानीयमा जनप्रतिनिधिप्रतिको विश्वाससमेत कमजोर बन्दै गएको उनीहरूको भनाइ छ ।
स्थानीयहरू निर्वाचनका बेला मात्रै नेताहरू गाउँ पस्ने र विकासका ठूला–ठूला आश्वासन दिने तर चुनाव सकिएपछि जनताको आधारभूत समस्याप्रति पूर्ण रूपमा बेवास्ता गर्ने प्रवृत्ति दोहोरिएको बताउँछन् । ‘भोट माग्ने बेला घर–घर आउने नेताहरू अहिले यो सडकको अवस्था हेर्नसमेत आउँदैनन्,’ एक स्थानीयले आक्रोश व्यक्त गरे ।
स्थानीयवासीका अनुसार नगवा नयाँ बस्तीमा स्थायी मतदाताको संख्या तुलनात्मक रूपमा कम भएकै कारण यस क्षेत्रलाई विकासका योजनाबाट जानाजानी पछाडि पारिएको छ । अन्य जिल्लाबाट बसाइँ सरेर आएका धेरै परिवारले हालसम्म मतदाता नामावली अद्यावधिक नगरेका कारण मतदाता संख्या न्यून रहेको र यही कारण वडादेखि महानगरपालिकासम्मका जनप्रतिनिधिले यस क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप उनीहरूको छ ।
सडकमा लामो समयसम्म पानी जमिरहँदा आवागमनमा मात्रै समस्या भएको छैन, सार्वजनिक स्वास्थ्यमा समेत जोखिम बढेको स्थानीय बताउँछन् । सडकको दुवैतर्फ पानी जम्ने खुला स्थान भएकाले सर्पको विगविगी बढेको छ । साँझ र रातको समयमा सर्प घरआँगनसम्म पुग्ने गरेको भन्दै स्थानीय त्रसित छन् । बालबालिका, वृद्धवृद्धा र महिलाहरूलाई सडक प्रयोग गर्न झन् बढी जोखिम हुने गरेको उनीहरूको भनाइ छ ।
स्थानीयवासीहरूले वीरगंज महानगरपालिका र वडा नं. १६ कार्यालयसँग तत्काल सडकको स्थायी निर्माण, प्रभावकारी ढल निकासको व्यवस्था तथा वर्षायाममा सुरक्षित आवागमन सुनिश्चित गर्न माग गरेका छन् । उनीहरूका अनुसार आधारभूत पूर्वाधारको अभावमा वर्षौंदेखि सास्ती खेपिरहनु परेको अवस्थामा अब पनि सम्बन्धित निकाय मौन बसिरहे जनआक्रोश थप चर्किने निश्चित छ ।







प्रतिक्रिया दिनुहोस् !