मलगंवा (सर्लाही), २४ असार । सर्लाहीका उखु किसानका लागि सङ्घीय सरकारले निकासा गरेको ४१ करोड २२ लाख २१ हजार ८ सय ६९ रुपैयाँ ५० पैसा अनुदान रकम रोकिएको छ । चिनी उद्योगहरूले किसानको विवरण समयमै उपलब्ध नगराउँदा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)मै रोकिएको छ ।
कोलेनिकाका प्रमुख कोष नियन्त्रक पदमप्रसाद पौडेलका अनुसार अनुदान रकम असार १६ गते नै कार्यालयमा प्राप्त भएको हो । जिल्लाका तीनवटा चिनी उद्योगले उपलब्ध गराएको उखु क्रसिङको एकमुष्ट विवरणका आधारमा सरकारले प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान पठाएको थियो । उखु क्रसिङ सिजन २०८२–८३ मा इन्दुशङ्कर चिनी उद्योग (हरिवन), महालक्ष्मी चिनी उद्योग (बगदह) र अन्नपूर्ण चिनी उद्योग (धनकौल)ले जिल्लाका १८ हजार ३ सय ५१ किसानबाट खरिद गरेको ५८ लाख ८८ हजार ८ सय ८३.८५ क्विन्टल उखुका आधारमा अनुदान रकम निकासा गरिएको हो ।
असार १८ गते सदरमुकाम मलंगवामा बसेको अनुदान भुक्तानी समितिको बैठकमा तीन दिनभित्र किसानको नाम, ठेगाना, बैंक खाता र खरिद गरिएको उखुको विवरण उपलब्ध गराउने सहमति भए पनि उद्योगहरूले तोकिएको समयभित्र विवरण नबुझाएको कोलेनिकाले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !