वीरगंज (पर्सा), १८ असार । पर्साको बढनियार प्रहरी चौकीको हिरासतबाट थुनुवा फरार भएको घटनापछि ड्युटीमा खटिएका प्रहरी हवल्दारसँग लिखित स्पष्टीकरण मागिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको छानबिन अघि बढाउँदै प्रारम्भिक अनुसन्धानमा ड्युटीमा रहेका प्रहरी कर्मचारीको लापरबाही देखिएको आशंकापछि विभागीय प्रक्रिया सुरु गरेको जनाएको छ ।
पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार आइतबार राति हिरासतबाट फरार भएका थुनुवा २४ घण्टाभित्रै सोमबार बिहान सम्बन्धित वन कार्यालयमा आफैं उपस्थित भएपछि घटनाको अनुसन्धानलाई तीव्र बनाइएको हो । उनका अनुसार थुनुवा प्रहरी निगरानीबाट कसरी उम्किन सफल भयो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार ड्युटीमा रहेका प्रहरी हवल्दार रामनिवास यादवसँग थुनुवा फरार हुन पुगेको परिस्थितिबारे लिखित स्पष्टीकरण मागिएको छ ।
प्राप्त जवाफका आधारमा प्रहरी नियमावलीअनुसार आवश्यक विभागीय कारबाही अघि बढाइने प्रहरीको भनाइ छ । फरार भएका थुनुवा पर्सागढी नगरपालिका–४, पर्शुरामपुर निवासी २८ वर्षीय लालबाबु भन्ने मेराजुल देवान हुन् । काठ तस्करीको आरोपमा पक्राउ परेका उनी आइतबार साँझ खाना खाने क्रममा हत्कडीसहित प्रहरीको निगरानीबाट उम्किएको प्रहरी स्रोतले जनाएको छ । राति करिब ७ देखि ८ बजेको बीचमा हिरासतबाट भागेका उनको खोजीका लागि प्रहरीले तत्काल व्यापक अभियान सञ्चालन गरेको थियो ।
प्रहरी स्रोतका अनुसार खोजी कार्य तीव्र बनाएपछि परिवारका सदस्यको पहलमा देवानले भोलिपल्ट सम्बन्धित वन कार्यालयमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार देवानलाई असार १४ गते पक्राउ गरिएको थियो । सब–डिभिजन वन कार्यालय सबैयामा उनीविरुद्ध काठ तस्करीसम्बन्धी तीनवटा मुद्दा दर्ता रहेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।
यस घटनाले प्रहरी हिरासतको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको विस्तृत छानबिन जारी रहेको जनाउँदै अनुसन्धानबाट दोषी देखिने प्रहरी कर्मचारीमाथि प्रचलित कानुन र प्रहरी नियमावलीअनुसार विभागीय कारबाही गरिने स्पष्ट गरेको छ ।







प्रतिक्रिया दिनुहोस् !