गोलबजार (सिरहा), १७ असार । मधेश प्रदेशमा पहिलोपटक अत्याधुनिक ट्रमा सेन्टर निर्माण गर्ने बहुप्रतीक्षित योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा सिरहाको गोलबजार नगरपालिका–४ र ८ को सिमानास्थित पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको कोभिड अस्पताल परिसरमा ट्रमा सेन्टर निर्माण गरिने भएको हो ।
यस महत्वाकांक्षी आयोजनाका लागि मन्त्रालयले निर्माण कम्पनीसँग औपचारिक सम्झौता सम्पन्न गरिसकेको जनाएको छ । करिब २० करोड ३३ लाख ५० हजार ५०८ रुपैयाँ लागतमा निर्माण हुने ट्रमा सेन्टर २०८५ जेठ २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । मन्त्रालयका अनुसार नापजाँच प्रतिवेदनका आधारमा बाँकी कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गर्दै निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाइनेछ ।
मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका इन्जिनियर शेखर सिंहका अनुसार निर्माण हुने ट्रमा सेन्टरको भवन साढे दुई तलाको हुनेछ । भवनको लम्बाइ ७१ मिटर तथा चौडाइ ३५ मिटर रहने गरी अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले संरचना तयार गरिने उनले जानकारी दिए ।
गोलबजार नगरपालिका–४ का वडा अध्यक्ष सकलदेव यादवले ट्रमा सेन्टर निर्माणलाई गोलबजार मात्र नभई समग्र मधेश प्रदेशकै स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार ट्रमा सेन्टर सञ्चालनमा आएपछि सिरहा, सप्तरी, धनुषा, महोत्तरीसहित मधेश प्रदेशका आठै जिल्लाका नागरिकले आकस्मिक तथा दुर्घटनाजन्य उपचार सेवा आफ्नै प्रदेशमै सहज रूपमा प्राप्त गर्नेछन् ।
मधेश प्रदेशका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले प्रदेशमा तीव्र गतिमा बढिरहेको जनसंख्या, पूर्व–पश्चिम राजमार्गमा बढ्दो सवारी चाप तथा सडक दुर्घटनाको संख्या बढ्दै गएकाले अत्याधुनिक ट्रमा सेन्टर अपरिहार्य आवश्यकता बनेको बताए । उनका अनुसार सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायत जिल्लाका धेरै घाइतेले समयमै विशेषज्ञ उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न यो परियोजना महत्वपूर्ण साबित हुनेछ । आयोजनाको वित्तीय व्यवस्थापनमा पनि संघ र प्रदेश सरकारको संयुक्त लगानी रहनेछ । कुल लागतमध्ये ६० प्रतिशत रकम संघीय सरकारले तथा ४० प्रतिशत मधेश प्रदेश सरकारले व्यहोर्ने जनाइएको छ ।
ट्रमा सेन्टर निर्माण सम्पन्न भएपछि मधेश प्रदेशमा दुर्घटनापछि तत्काल विशेषज्ञ उपचार उपलब्ध गराउने स्वास्थ्य पूर्वाधार थपिने विश्वास गरिएको छ । यसले आकस्मिक उपचार सेवामा सुधार ल्याउनुका साथै गम्भीर घाइते बिरामीलाई उपचारका लागि काठमाडौं वा अन्य प्रदेश धाउनुपर्ने बाध्यता पनि उल्लेखनीय रूपमा कम हुने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया दिनुहोस् !