नितनपुर (बारा), ७ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१० स्थित नितनपुर चोकमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । वीरगंजबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस वीरगंज–पथलैया सडक खण्डमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
दुर्घटनासँगै घटनास्थलमा केहीबेर अफरातफरीको अवस्था सिर्जना भएको थियो । दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुर–सिमरा तथा सशस्त्र प्रहरी बलको सुरक्षा बेस जितपुर बकुलियाबाट खटिएको संयुक्त टोली घटनास्थलमा पुगेको थियो । उद्धार टोलीले तत्काल घाइते यात्रुहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाएको थियो । प्रहरीका अनुसार सातजना घाइतेहरूको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उपचाररत घाइतेहरूमा कमलेश यादव, रुबी यादव, शिवानी यादव, रामनरेश प्रसाद, नरेश पञ्जियार, धनञ्जय प्रसाद चौरसिया र सुनिता यादव रहेका छन् । त्यसैगरी सिराहाका चिनीलाल श्रेष्ठको तराई हस्पिटलमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको बताइएको छ । अन्य घाइतेहरूको अवस्था भने खतरामुक्त रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिमा रहेको बसले अर्को सवारी साधनलाई उछिन्ने प्रयास गर्दा चालकले नियन्त्रण गुमाएको र त्यसपछि बस सडकमा पल्टिएको देखिएको छ । दुर्घटनापछि बस चालक घटनास्थलबाट फरार भएका कारण उनको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका कारण केही समय उक्त सडक खण्डमा यातायात प्रभावित भएको थियो । सडकमा पल्टिएको बसले आवागमनमा अवरोध पुर्याएपछि प्रहरी र स्थानीयको सहयोगमा बस हटाउने कार्य गरिएको थियो । बस हटाइएपछि वीरगंज–पथलैया सडक खण्डमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।
व्यस्त मानिने वीरगंज–पथलैया सडक खण्डमा पछिल्लो समय बढ्दो सवारी चाप र तीव्र गतिका कारण दुर्घटनाका घटना दोहोरिन थालेका छन् । यस घटनाले पुनः एकपटक सवारी चालकलाई ट्राफिक नियमको पालना, सुरक्षित गति र सावधानीपूर्वक सवारी सञ्चालनको आवश्यकता महसुस गराएको छ । प्रहरीले दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ भने फरार चालकलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !