वीरगंज (पर्सा), ६ असार । पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड ५९ लाख ४१ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय सार्वजनिक गर्दै नीति तथा कार्यक्रमसहितको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ । शुक्रबार सम्पन्न नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख पूजा चौधरीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी थिइन् ।
प्रस्तुत बजेटमा नगरको समग्र विकास, आधारभूत सेवा विस्तार तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको जनाइएको छ । बजेट प्रस्तुत हुनुअघि नगर प्रमुख गोकर्ण पाठकले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । उनले ‘समृद्ध र सुन्दर पर्सागढी, सुखी पर्सागढीवासी’ भन्ने दीर्घकालीन सोचलाई मूर्त रूप दिन शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई नगरको समृद्धिको आधारका रूपमा अगाडि बढाइने बताएका थिए ।
नगर प्रमुख पाठकको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जनप्रतिनिधिहरूले विभिन्न विकास योजना, बजेट विनियोजन तथा नगरको समग्र विकाससँग सम्बन्धित विषयमा आफ्ना धारणा तथा जिज्ञासा राखेका थिए। वडा सदस्यहरू लक्ष्मण आचार्य, सीता लामा, असलम आलम तथा वडाध्यक्ष रामबढाई प्रसाद यादव र शेख खुर्सेद मियाँलगायतले नगरको विकाससँग सम्बन्धित विभिन्न विषयमा प्रश्न उठाएका थिए ।
नगरसभामा उठाइएका प्रश्न तथा चासोका विषयमा प्रमुख प्रशासकीय अधिकृत राजु साह र नगर प्रमुख पाठकले स्पष्टिकरण तथा जवाफ दिएका थिए । छलफलपछि नीति, कार्यक्रम र बजेटलाई सर्वसम्मत रूपमा अनुमोदन गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए । नगरसभाको अवसरमा नगर विकासमा योगदान पुर्याएका जग्गादाता, कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको थियो । नगरपालिकाले उनीहरूको योगदानको कदर गर्दै विशेष सम्मान गरेको जनाएको छ ।
पारित नीति तथा कार्यक्रमले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, कृषि क्षेत्रको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा भौतिक पूर्वाधार विस्तारमार्फत नगरवासीको जीवनस्तर उकास्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै पर्सागढीको समग्र विकासले थप गति लिने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस् !