मलङ्गवा (सर्लाही), ५ असार । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ स्थित एक जग्गा विवादलाई लिएर प्रहरी कार्यालयमै हुलहुज्जत, ढुङ्गामुढा तथा गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ घर भई हाल ईश्वरपुर–१५ सुकनाहा बस्ने ३२ वर्षीय विनोद कडेरिया, सोही स्थानका ६२ वर्षीय जयप्रसाद गौतम र उनका ३६ वर्षीय छोरा उज्ज्वल गौतम रहेका छन् । अदालतको आदेशानुसार जग्गा भोगचलन गर्न पुगेका धनीमाथि अवरोध सिर्जना गर्दै उनीहरूले इलाका प्रहरी कार्यालय केशरगञ्ज परिसरमै पुगेर उपद्रव मच्चाएका हुन् ।
जिल्ला अदालत सर्लाहीले स्थानीय कालिका उप्रेतीको निर्विवाद हकभोग तथा स्वामित्वमा रहेको जग्गा उनलाई भोगचलन गर्न नरोकिने भनी आदेश जारी गरेको थियो । सोही आदेशका आधारमा उप्रेती आफ्नो जग्गा भोगचलनका लागि पुगेका थिईन् । तर, त्यहाँ केही व्यक्तिहरूले अवरोध खडा गरेपछि समस्य आएको थियो ।
विवाद भए पछि दुवै पक्षविच इलाका प्रहरी कार्यालय केशरगञ्जमा छलफल भइरहेको थियो । छलफलकै क्रममा आक्रोशित समूहले प्रहरी कार्यालय परिसरमै पार्किङ गरी राखिएको उप्रेतीको सवारी साधन तोडफोड गरेका थिए । स्थिति नियन्त्रणमा लिन खोज्दा उत्तेजित भिडले उल्टै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको थियो ।
सो क्रममा उनीहरूले इलाका प्रहरी कार्यालय केशरगञ्जको मुख्य गेट समेत तोडफोड गर्ने प्रयास गर्दै सुरक्षा निकायमाथि नै चुनौती दिएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !