वीरगंज (पर्सा), २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ को नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा जितेन्द्र मिश्राको प्यानलले उल्लेखनीय सफलता हासिल गरेको छ । निर्वाचन परिणामले क्षेत्रीय संगठनमा पुराना तथा सक्रिय कार्यकर्ताप्रति सदस्यहरूको विश्वास कायम रहेको संकेत गरेको विश्लेषण गरिएको छ । निर्वाचनमा क्षेत्रीय संयोजकसहित विभिन्न पदमा मिश्राको समूहले प्रभावशाली उपस्थिति जनाउँदा प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य निकट अधिकांश उम्मेदवार पराजित भएका छन् ।
विशेषगरी क्षेत्रीय उपसंयोजक पदको नतिजालाई संगठनभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । उपसंयोजक पदमा मिश्राको प्यानलबाट उम्मेदवार बनेका प्रद्युम्न प्रसाद गौतम ३९ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी तथा सांसद शाक्य समर्थित कृष्णमोहन प्रसाद यादवले १९ मत प्राप्त गरे। गौतमले २० मतको स्पष्ट अन्तरसहित विजय हासिल गरेका हुन् । यादव जगरनाथपुर गाउँपालिकाको अध्यक्ष पदका दुई पटकका प्रत्याशीसमेत हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दोस्रो स्थान र २०७९ मा तेस्रो स्थान हासिल गरेका उनले आगामी स्थानीय निर्वाचनमा पुनः अध्यक्ष पदमा दाबी गर्ने तयारी गरिरहेको चर्चा चलिरहेका बेला पार्टीभित्रकै निर्वाचनमा बेहोरेको पराजयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
निर्वाचन परिणामसँगै सांसद शाक्यको संगठनात्मक रणनीतिबारे पनि पार्टीभित्र बहस सुरु भएको छ । केही नेता तथा कार्यकर्ताले लामो समयदेखि पार्टीमा सक्रिय रहेका कार्यकर्तालाई पर्याप्त स्थान नदिई नवप्रवेशी व्यक्तिहरूलाई प्राथमिकता दिइएको आरोप लगाउँदै आएका छन् । क्षेत्रीय नेतृत्व चयनमा शाक्यले समर्थन गरेका अधिकांश उम्मेदवारले सफलता हासिल गर्न नसकेपछि उनको समूहलाई संगठनभित्र महत्वपूर्ण झट्का लागेको टिप्पणी हुन थालेको छ । यस परिणामले क्षेत्र नं. ४ मा शक्ति सन्तुलनको नयाँ चित्र प्रस्तुत गरेको विश्लेषकहरूको भनाइ छ ।
पार्टी स्रोतका अनुसार निर्वाचनको नतिजाले रास्वपा पर्साभित्र संगठन विस्तार, नेतृत्वको स्वीकार्यता, पुराना कार्यकर्ताको भूमिका तथा आगामी नेतृत्व निर्माणबारे थप बहसको वातावरण सिर्जना गरेको छ । साथै, क्षेत्रीय तहको यो परिणामले जिल्लाभित्रको आन्तरिक राजनीतिक समीकरणमा समेत नयाँ संकेत दिएको चर्चा पार्टी वृत्तमा भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस् !