मलङ्गवा (सर्लाही), २३ जेठ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल बुढाथोकीमाथि प्रहरी संगठनभित्र सरुवा–व्यवस्थापनदेखि अवैध गतिविधिको संरक्षण र असुलीसम्मका गम्भीर आरोपहरू सार्वजनिक भएका छन् । प्रहरी स्रोतहरूले दिएको जानकारीअनुसार अपराध अनुसन्धान शाखामा कार्यरत बुढाथोकीले जिल्ला प्रहरी नेतृत्वसँगको निकट सम्बन्धको आडमा संगठनभित्र अस्वाभाविक प्रभाव कायम गरेको दाबी गरिएको छ ।
प्रहरी वृत्तभित्रै चल्ने चर्चाअनुसार चौकी इन्चार्जसहित विभिन्न प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापनामा उनको प्रभाव रहने गरेको बताइन्छ । स्रोतहरूका अनुसार आर्थिक लाभ हुने तथा सीमावर्ती क्षेत्रका ‘मालदार’ प्रहरी चौकीहरूमा आफू निकटका प्रहरीलाई खटाउने र कम आम्दानी हुने स्थानमा अन्य कर्मचारीलाई पठाउने अभ्यास रहेको आरोपसमेत उनीमाथि लागेको छ ।
यति मात्र होइन, जिल्ला प्रहरी कार्यालयभित्र प्रशासन, मुद्दा व्यवस्थापन र अनुसन्धानसँग सम्बन्धित कतिपय संवेदनशील निर्णय प्रक्रियामा समेत उनको अनौपचारिक प्रभाव रहेको दाबी गरिएको छ । औपचारिक अधिकारक्षेत्रभन्दा बाहिरका विषयमा समेत उनको सहमतिबिना प्रक्रिया अघि नबढ्ने अवस्था रहेको स्रोतहरूको भनाइ छ ।
स्रोतका अनुसार मलङ्वा निवासी एक हुण्डी कारोबारीसँग इन्स्पेक्टर बुढाथोकीको निकट सम्बन्ध रहेको देखिने विवरण तथा तस्बिरहरू बाहिरिएका छन् । यस्तै, भारतको बिहार क्षेत्रमा सक्रिय केही हुण्डी कारोबारीहरूसँग उनको सम्पर्क र भेटघाट देखिने तस्बिरहरू समेत फेला परेको दाबी गरिएको छ ।
प्रहरी स्रोतहरूका अनुसार ‘क्राइम टोली’को नाममा केही प्रहरी कर्मचारीलाई अनौपचारिक रूपमा परिचालन गर्दै जिल्लाका विभिन्न क्षेत्रमा निगरानी र असुलीसम्बन्धी गतिविधि सञ्चालन गरिएको आरोप पनि उठेको छ । पूर्व–पश्चिम राजमार्ग आसपासका केही होटलहरूमा हुने अवैध गतिविधिबाट समेत ‘डिल’मार्फत रकम असुली हुने गरेको दाबी स्रोतहरूले गरेका छन् । यद्यपि, यसबारे सम्बन्धित व्यवसायीहरूले सार्वजनिक रूपमा बोल्न चाहेका छैनन् ।
केही दिनअघि लालबन्दी नगरपालिका–परवानीपुर क्षेत्रमा सञ्चालित जुवाखालमा प्रहरीले गरेको छापामारी पनि यतिबेला चर्चाको केन्द्रमा छ । उक्त जुवाखाल इन्स्पेक्टर बुढाथोकीकै संरक्षण र ‘सेटिङ’मा सञ्चालन भइरहेको आरोपसमेत विभिन्न स्रोतहरूले लगाएका छन् । यसअघि पनि जिल्लाभित्र हुने विभिन्न संवेदनशील गतिविधिहरूमा उनको प्रभावशाली भूमिका रहने गरेको चर्चा पटक–पटक उठ्दै आएको बताइन्छ । तर, सार्वजनिक भएका यी सबै आरोपबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।
गम्भीर प्रकृतिका आरोपहरू सार्वजनिक भइरहेका बेला घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने माग सरोकारवाला तथा स्थानीय तहबाट उठ्न थालेको छ ।









प्रतिक्रिया दिनुहोस् !