वीरगंज (पर्सा), १ जेठ । हरि खेतान बहुमुखी क्याम्पस मा बिहीबार भएको दुर्व्यवहार तथा कुटाकुटको घटनापछि क्याम्पसको शैक्षिक वातावरण प्रभावित बनेको छ । घटनाको असरस्वरूप क्याम्पस प्रशासनले शुक्रबारका लागि सबै तहको पठन–पाठन स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
क्याम्पस प्रशासन शाखाले बिहीबार साँझ जारी गरेको सूचनामा “विशेष कारणवश” कक्षा सञ्चालन रोकिएको उल्लेख गरिएको भए पनि त्यसको प्रमुख कारण क्याम्पस परिसरमै उत्पन्न भएको विवाद र तनावपूर्ण अवस्था रहेको बताइएको छ ।
लामो समयदेखि आन्तरिक विवाद झेलिरहेको क्याम्पसमा बिहीबार शिक्षक तथा पदाधिकारीबीचको मतभेद चर्किँदै दुर्व्यवहार र हातहालाहालको अवस्थासम्म पुगेको थियो । क्याम्पस परिसरमै शिक्षकहरूबीच लछारपछार भएको तथा क्याम्पस प्रमुख किशोरी रायमाथि कालोमोसो दलिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको व्यापक आलोचना भइरहेको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्सा ले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । क्याम्पस प्रमुखमाथि दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।
शिक्षण संस्थाभित्रै शिक्षकहरूबीच भएको यस्तो लज्जास्पद घटनाले शैक्षिक क्षेत्रको गरिमा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ । सामुदायिक क्याम्पसको रूपमा परिचित संस्थामा सीमित समूहको प्रभाव बढ्दै गएको तथा निजी स्वार्थ हाबी भएको आरोप लामो समयदेखि लाग्दै आए पनि सम्बन्धित निकाय र जनप्रतिनिधिहरू मौन बसेको भन्दै आलोचना भइरहेको छ ।
यस घटनापछि क्याम्पसको शैक्षिक, प्रशासनिक तथा सामाजिक विश्वसनीयतामाथि समेत प्रश्न उठ्न थालेको छ ।









प्रतिक्रिया दिनुहोस् !