बरहथवा (सर्लाही), २२ वैशाख । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका–२ स्थित धरहरा चौक नजिक नयाँ रोड–बरहथवा सडक खण्डमा सोमबार साँझ भएको दुर्घटनामा करिब ७५ वर्षीय स्थानीय हरिबहादुर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट (बीआर ३३ बीएफ ७८२१) भएको मोटरसाइकलले साँझ करिब ६ बजे पैदल हिँडिरहेका अधिकारीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई तत्काल उपचारका लागि वीरगञ्ज लगिएको थियो । पछि थप उपचारका लागि बारा जिल्लास्थित एलएस न्युरो अस्पताल पुर्याइए पनि चिकित्सकले साँझ करिब ७ बजे मृत घोषणा गरेका थिए ।
घटनापछि मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा राखिएको छ । साथै, मोटरसाइकल चालक गोडैता नगरपालिका–२ का करिब २० वर्षीय शिवम कुशवाहालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 







प्रतिक्रिया दिनुहोस् !