वीरगंज (पर्सा), १४ वैशाख । पर्सामा अवैध रूपमा ढुवानी भइरहेको साल काठसहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ। सबैया सब डिभिजन वन कार्यालयको सक्रियतामा गरिएको कारबाहीबाट उक्त काठ बरामद गरिएको हो ।
आइतबार बिहान प्राप्त गोप्य सूचनाका आधारमा वीरगंज महानगरपालिका–३१ को मिलन चोक क्षेत्रमा संयुक्त गस्ती परिचालन गरिएको थियो । सबैया सब डिभिजन वन कार्यालय र सबैया साझेदारी वन उपभोक्ता समूहको टोलीले प्रदेश २–०३–००१ त १५७५ नम्बरको ट्याक्टरमा लोड गरिएको साल काठ फेला पारेको हो ।
कारबाहीका क्रममा वीरगंज–२९ मुसौली निवासी कृष्ण प्रसाद साहलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका साहसँगै बरामद काठ र ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन डिभिजन वन कार्यालय पर्सा पठाइएको जनाइएको छ ।
सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकायका अनुसार करिब २४ फिट लम्बाइको साल काठसहित ट्याक्टर नियन्त्रणमा लिइएको हो, जसको अनुमानित मूल्य करिब १५ लाख रुपैयाँ बराबर रहेको छ ।
हाल बरामद सामग्री थप अनुसन्धानका लागि सबैया सब डिभिजन वन कार्यालयमै राखिएको छ भने घटनाबारे विस्तृत छानबिन भइरहेको जनाइएको छ ।







प्रतिक्रिया दिनुहोस् !