वीरगंज (पर्सा), १६ चैत । पर्सा जिल्लाका ग्रामीण क्षेत्रहरूमा यतिबेला किसानहरू दोस्रो प्रमुख बालीका रूपमा रहेको गहुँ भित्र्याउने कार्यमा जुटेका छन् । ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका विभिन्न बस्तीमा गहुँ कटानी र संकलनको चटारो देखिएको छ । यस वर्ष खेतीपातीमा केही सकारात्मक परिवर्तन पनि देखिएका छन् । परम्परागत तरिका घट्दै जाँदा किसानहरूले आधुनिक प्रविधिको प्रयोग बढाएका छन् ।
विशेषगरी हार्भेस्टर मेसिनमार्फत गहुँ काट्ने र थ्रेसिङ गर्ने कार्यले समय बचत गरेको छ भने श्रमिक अभावको समस्या पनि केही हदसम्म कम भएको कृषकहरू बताउँछन् । तर प्रविधिको विस्तार भएपनि उत्पादनमा भने गिरावट आएको छ । जिराभवानी गाउँपालिका–१ भवानीपुरका किसान सत्यदेव चौधरीका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन झण्डै आधा घटेको छ । उनले गत वर्ष १२ कट्ठा जमिनबाट १४ क्विन्टल गहुँ भित्र्याएकोमा यस वर्ष त्यही क्षेत्रफलबाट करिब ७ क्विन्टल ७० किलो उत्पादन भएको जानकारी दिए ।
अन्य किसानहरूले पनि यस्तै अनुभव सुनाएका छन् । उनीहरूका अनुसार गहुँको बाला लाग्ने महत्वपूर्ण समयमा परेको असमय वर्षाले फूल झर्ने समस्या निम्त्यायो । त्यसले दाना राम्रोसँग नबन्ने अवस्था सिर्जना गर्यो र उत्पादनमा प्रत्यक्ष असर पर्यो । कतिपय स्थानमा रोग र कीराको संक्रमणसमेत देखिएकाले समस्या अझ जटिल बनेको उनीहरूको भनाइ छ ।
यसबीच खेतीको लागत भने निरन्तर बढिरहेको छ । मल, बीउ, सिँचाइ र मजदुरी खर्च बढ्दै जाँदा किसानहरूको आर्थिक भार थपिएको छ । हार्भेस्टरको प्रयोगले केही सहजता ल्याए पनि यसको भाडा महँगो भएकाले साना किसानहरू पूर्ण रूपमा मेसिनमा निर्भर हुन सकेका छैनन् ।
उत्पादन घट्दा मूल्य बढ्ने अपेक्षा गरिएपनि बजारमा त्यस्तो अवस्था देखिएको छैन । ठोरी गाउँपालिका–५ सुवर्णपुरका किसान प्रेम लामाका अनुसार यस वर्ष गहुँको मूल्य सुरुमा प्रतिक्विन्टल ३,७०० रुपैयाँबाट कारोबार सुरु भएको र हाल करिब ३,८०० रुपैयाँमा सीमित छ । गत वर्ष भने यही मूल्य ४,५०० रुपैयाँबाट सुरु भएको थियो भने त्यसअघिल्लो वर्ष करिब ४,००० रुपैयाँ आसपास थियो ।
उत्पादनमा कमी र मूल्यमा अपेक्षित सुधार नआउँदा किसानहरू दोहोरो मारमा परेका छन् । मेहनत र लगानीअनुसार आम्दानी नहुँदा कृषिप्रति निराशा बढ्दै गएको उनीहरूको गुनासो छ । किसानहरूले समयमै मल–बीउ उपलब्ध गराउने, सिँचाइ सुविधा विस्तार गर्ने तथा गहुँको उचित समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका छन् । साथै मौसमजन्य जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना ल्याउनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।
यस वर्ष पर्साका किसानहरूको अवस्था समग्रमा चुनौतीपूर्ण देखिएको छ एकातिर उत्पादन घटेको छ भने अर्कोतिर बजार मूल्य पनि सन्तोषजनक नभएकाले उनीहरूको आयमा प्रत्यक्ष असर परेको छ ।









प्रतिक्रिया दिनुहोस् !