वीरगंज (पर्सा), ९ चैत । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. महावीर पुन ले वीरगञ्जमा आफ्नो आत्मकथा पुस्तक बिक्री अभियान सञ्चालन गरेका छन् । निर्वाचनपछि पहिलोपटक वीरगञ्ज पुगेका उनले सोमबार घण्टाघर चोकमा पुस्तक बिक्री गर्दै स्थानीयसँग प्रत्यक्ष संवाद गरेका हुन् ।
पुस्तक बिक्री कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति देखिएको थियो । यसक्रममा उनले रामजनम तिवारीको सालिक परिसर वरपर पनि पुस्तक बिक्री गरेका थिए भने त्यसपछि कृषि औजार कारखानामा पुगेर अभियानलाई निरन्तरता दिने योजना रहेको जानकारी दिएका छन् ।
पुनले ‘महावीर पुन आयो, किताब लिएर आयो’ भन्ने नारासहित सर्वसाधारणलाई पुस्तक खरिदमार्फत अभियानमा साथ दिन आग्रह गरे । उनका अनुसार पुस्तक बिक्रीबाट संकलन हुने रकम कृषि औजार कारखाना सञ्चालनका लागि प्रयोग भइरहेको छ । यस पहलबाट हालसम्म करिब ५० जनाले रोजगारी पाएको उनले बताएका छन्, जसले स्थानीय स्तरमा रोजगारी सृजनामा सकारात्मक योगदान पुर्याएको छ ।
कार्यक्रममा वीरगंजका युवाहरुको पनि उत्साहजनक सहभागिता देखिएको थियो । बिपिएस कलेजका सञ्चालक दिपक पटेल तथा सन्दिप कुश्वाहा लगायतले पुस्तक खरिद गरी सहयोग जनाएका थिए । डा. पुनको यस अभियानले उद्यमशीलता प्रवद्र्धनसँगै स्थानीय उत्पादन र रोजगारी अभिवृद्धिका लागि प्रेरणादायी सन्देश दिएको सहभागीहरुको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस् !