वीरगंज (पर्सा), २४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेले निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्दै क्षेत्रको विकास र नागरिकको अधिकारका पक्षमा आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि जारी गरिएको वक्तव्यमा पाण्डेले लोकतान्त्रिक व्यवस्थामा जनताको निर्णय नै सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गरेका हुन् ।
उनले आफूलाई विश्वास गरेर मत प्रदान गर्ने मतदाता, चुनावी अभियानमा दिनरात खटिएका समर्थक, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद प्रकट गरेका हुन् । पाण्डेले निर्वाचनमा हार व्यवहोर्नु परेपनि यसले आफ्नो राजनीतिक यात्रालाई रोकिने अवस्था नबनाउने स्पष्ट पारेका छन् । बरु यस अनुभवले अझ जिम्मेवार, परिपक्व र समर्पित भएर जनताको सेवामा लाग्न प्रेरित गरेको उनको भनाइ छ । ‘सदनमा प्रतिनिधित्व नभएपनि पर्सा–३ का नागरिकको अधिकार र क्षेत्रको विकासका लागि मेरो आवाज समाज र सडक दुवै ठाउँमा निरन्तर उठिरहनेछ,’ उनले उल्लेख गरेका छन् ।
यस अवसरमा उनले सोही क्षेत्रबाट विजयी भएका रामाकान्त चौरसियालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन् । साथै पर्सा–३ को समग्र विकास र जनसरोकारका विषयमा आफूले आवश्यक सहयोग र रचनात्मक खबरदारी निरन्तर गर्दै जाने प्रतिबद्धता पनि जनाएका छन् । पाण्डेले निर्वाचन प्रक्रियालाई व्यवस्थित र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका निर्वाचन आयोग नेपाल, सुरक्षा निकाय तथा सम्पूर्ण सरोकारवाला निकायप्रति पनि आभार प्रकट गरेका छन् । उनले आफ्नो राजनीतिक निष्ठा र जनसेवाको अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गरेका छन् ।








प्रतिक्रिया दिनुहोस् !