वीरगंज (पर्सा), २३ फागनु । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा मतपेटिका सम्बन्धी विवाद चर्किएपछि शनिबार साँझदेखि मतगणना प्रक्रिया रोकिएको छ । पटेर्वासुगौली गाउँपालिका–४ बाट आएको एउटा मतपेटिका हराएको आशंका उठेपछि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कडा विरोध जनाउँदै मतगणना बहिष्कार गरेका हुन् ।
क्षेत्र नम्बर–३ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार साँझ करिब ५ बजेदेखि मतगणना स्थगित गरिएको हो । गणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको भन्दा कम मतपत्र भेटिएपछि दलका प्रतिनिधिहरूले गम्भीर आपत्ति जनाएपछि अवस्था तनावपूर्ण बनेको थियो ।
यता क्षेत्र नम्बर–३ का निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले भने मतपेटिका हराएको नभई अन्यत्र राखिएको अवस्थामा फेला परेको स्पष्ट पारेका छन् । उनका अनुसार पटेर्वासुगौली–४ बाट ल्याइएका चार वटा मतपेटिकामध्ये एउटा बक्सा गलत स्थानमा राखिएको थियो । ‘मुचुल्कामा उल्लेख गरिएको संख्याभन्दा मतपत्र कम देखिएपछि हामीले खोजतलास सुरु गर्यौं । खोजी गर्ने क्रममा अर्को स्थानमा राखिएको मतपेटिका फेला परेको र त्यसलाई पुनः ल्याइएको हो,’ श्रेष्ठले बताए ।
यद्यपि मतपेटिका भेटिएपछि पनि दलहरूले असन्तुष्टि जनाउँदै आपत्ति कायम राखेकाले हालसम्म मतगणना प्रक्रिया अघि बढ्न सकेको छैन । पटेर्वासुगौली–४ मा झण्डै ३ हजार ३ सय मत खसेको भनिए पनि गणनाको क्रममा करिब २ हजार २ सय मतपत्र मात्रै फेला परेपछि विवाद सुरु भएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस् !