वीरगंज (पर्सा), १७ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले चुनावी अभियानलाई थप गति दिएका छन् । आइतबार उनले वीरगंज महानगरपालिका–१० को आदर्शनगर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरे । घरदैलोका क्रममा स्थानीय बासिन्दाले कानुलाई आत्मीय स्वागत गरेका थिए । पूर्व वडाध्यक्षसमेत रहेका कानुले टोल टोलमा पुगेर मतदाताका गुनासा, सुझाव र अपेक्षाबारे संवाद गरेका थिए। कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको थियो ।
संवादका क्रममा कानुले आदर्शनगरलाई व्यवस्थित, सुरक्षित र व्यवसायमैत्री क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । वीरगंज देशकै महत्वपूर्ण औद्योगिक तथा व्यापारिक केन्द्र भएपनि अपेक्षित प्राथमिकता नपाएको उनको टिप्पणी थियो । ‘दशकौँदेखि चलिरहेको पुरानै राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा ठोस परिवर्तन ल्याउन सकेन,’ उनले भने, ‘अब पारदर्शिता, जवाफदेहिता र सुशासनमा आधारित नयाँ राजनीतिक संस्कार आवश्यक छ ।’ मधेश प्रदेशको एक मात्र महानगरपालिका रहेको वीरगंजले संघीय संरचनामा विशेष ध्यान पाउनुपर्ने उल्लेख गर्दै उनले अघिल्ला सांसद तथा मन्त्रीहरूको बेवास्ताका कारण शहरको सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको आरोप लगाए । सडक, नाला, पूर्वाधार र व्यापार–व्यवसायको अवस्था सुदृढ गर्न दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ थियो ।
निर्वाचित भएपछि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी योजनाबद्ध विकास अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे । विशेष गरी पर्साको औद्योगिक सम्भावनालाई केन्द्रमा राखेर ठूला विकास आयोजना सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने तथा व्यापारिक वातावरणलाई सहज बनाउने योजना उनले सार्वजनिक गरे । मतदातासँगको संवादमा कानुले आफ्नो अघिल्लो कार्यकालको अनुभव पनि स्मरण गराए । ‘तपाईंहरूले माया गरेर वडाध्यक्ष बनाउनु भयो, यस पटक सांसदका रूपमा सेवा गर्ने अवसर दिनुहोस्,’ आग्रह गर्दै उनले भने, ‘रास्वपालाई मत दिएर नयाँ युगको सुरुआत गरौँ ।’ आदर्शनगर क्षेत्रमा गरिएको घरदैलो कार्यक्रमले पर्सा–२ मा चुनावी प्रतिस्पर्धा थप रोचक बनेको राजनीतिक वृत्तमा चर्चा छ । चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूले आआफ्नो एजेन्डा लिएर मतदातामाझ सक्रियता बढाइरहेका छन् ।








प्रतिक्रिया दिनुहोस् !