वीरगंज (पर्सा), १७ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दल त्याग्दै नेताकार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा आबद्ध हुने क्रम उल्लेखनीय रूपमा बढेको छ । पछिल्लो चरणमा श्रम संस्कृति पार्टीका वीरगंज महानगरपालिका नगर अध्यक्ष शोयब अख्तरले औपचारिक रूपमा एमालेको सदस्यता ग्रहण गरेका छन् ।
त्यसैगरी, वीरगंज महानगरपालिका वडा नं. १८ सौराहाका युवा नेता राकेश यादवको अग्रसरतामा दर्जनौं युवाहरूले नेपाली कांग्रेस परित्याग गर्दै एमाले रोजेका छन् । वडा नं. २० हरपतगञ्जमा पनि शंकर सिंहको नेतृत्वमा कांग्रेसका कैयौं नेता–कार्यकर्ताहरू एमालेमा समाहित भएका छन् । नवआबद्ध सबैलाई एमाले पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले स्वागत गर्दै पार्टीको झण्डामुनि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका थिए । स्वागत मन्तव्यका क्रममा उनले मुलुकलाई समृद्धि, स्थिरता र दिगो विकासतर्फ लैजान एमाले नै सक्षम र जिम्मेवार शक्ति भएको दाबी गरे। विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको सहभागिताले संगठन थप सुदृढ र प्रभावशाली बन्ने विश्वास उनले व्यक्त गरे ।
वीरगंजका विभिन्न वडामा भइरहेको यो प्रवेश अभियानले स्थानीय राजनीतिक गतिविधिलाई नयाँ ऊर्जा दिएको छ । एमाले नेतृत्वले पछिल्लो समय जनसमर्थन उल्लेखनीय रूपमा विस्तार हुँदै गएको दाबी गर्दै आएको छ । उम्मेदवार यादवले पार्टीप्रतिको बढ्दो आकर्षणले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा वीरगंजमा प्रमुख दलहरूबीचको प्रतिस्पर्धा दिनप्रतिदिन चर्किंदै गएको छ भने पर्सा–१ को राजनीतिक समीकरण पनि थप रोचक बन्दै गएको देखिएको छ ।







प्रतिक्रिया दिनुहोस् !