वीरगंज (पर्सा), १६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले शनिबार घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उनले वीरगंज महानगरपालिका–२९ बसडिलवा र बहुदरमाई नगरपालिका–२ सीसीयाडी क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए ।
घरदैलोका क्रममा कानुले सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र राजनीतिक परिवर्तनको एजेन्डासहित ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे । विगत चार दशकदेखि दोहोरिँदै आएको राजनीतिक संरचनाले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गर्दै उनले अब नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता रहेको धारणा राखे ।
‘विधिको शासन सुदृढ गर्दै नागरिकको जीवनस्तर उकास्ने र समृद्ध नेपाल निर्माण गर्ने उद्देश्यले हामी चुनावी मैदानमा छौं,’ कानुले भने । पर्सा जिल्लाबाट रास्वपाका सबै उम्मेदवारलाई जिताएर नयाँ राजनीतिक सन्देश दिन उनले मतदातासँग अपिलसमेत गरे ।
उनले पर्साको महत्व औँल्याउँदै वीरगंजलाई देशकै आर्थिक केन्द्रका रूपमा चिनिने बताए । भौगोलिक तथा कूटनीतिक हिसाबले सम्वेदनशील र सम्भावनायुक्त क्षेत्र भएपनि यहाँबाट निर्वाचित जनप्रतिनिधिहरूले अपेक्षित ध्यान नदिँदा विकासले गति लिन नसकेको उनको आरोप थियो । शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधारको अवस्था दयनीय रहेको उल्लेख गर्दै उनले विगतका प्रतिनिधिहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको दाबी गरे ।
निर्वाचनपछि रास्वपा नेतृत्वमा सरकार बने पर्सामा ठूला तथा दीर्घकालीन विकास योजना ल्याइने उनले प्रतिबद्धता व्यक्त गरे । कृषि, शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेर जनताको प्रत्यक्ष आवश्यकतासँग जोडिएका कार्यक्रम अघि सारिने उनको भनाई छ । स्थानीय तहदेखि संघीय सरकारसम्म समन्वय गरेर योजनाबद्ध ढंगले विकास अघि बढाइने उनले बताए ।
कृषि क्षेत्रको समस्याबारे बोल्दै उनले किसानलाई समयमै मल उपलब्ध गराउने सुनिश्चितता गरिने उल्लेख गरे । साथै युवालाई सीपमूलक तालिम प्रदान गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गरिने योजना रहेको बताए । ‘युवाले आफ्नै ठाउँमा अवसर पाए वैदेशिक रोजगारीको बाध्यता स्वतः कम हुन्छ,’ उनले जोड दिए ।
अभियानका क्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य सेवा, सडक तथा खानेपानी जस्ता आधारभूत क्षेत्रमा सुधार नदेखिएको गुनासो गरेका थिए । जवाफमा कानुले जनताको आवाज संसद्मा प्रभावकारी रूपमा उठाउने र विकासका काममा देखिने परिणाम ल्याउने प्रतिबद्धता दोहोर्याए । कार्यक्रममा सहभागी युवाहरूले परिवर्तनको पक्षमा माहोल बन्दै गएको प्रतिक्रिया दिएका थिए । ज्येष्ठ नागरिक र महिलाहरूले पनि यसपटक जिम्मेवार र जवाफदेही नेतृत्व चयन गर्ने मनस्थिति व्यक्त गर्दै सुशासनलाई प्राथमिकता दिने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस् !