वीरगंज (पर्सा), १२ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट उम्मेदवारी दिएका रूपेश पाण्डे यतिबेला फरक शैली, स्पष्ट एजेन्डा र आत्मविश्वासका साथ चुनावी मैदानमा सक्रिय छन् । काठमाडौंको स्थापित व्यवसाय छाडेर चार वर्षदेखि निरन्तर गाउँ गाउँ पुग्दै जनतासँग प्रत्यक्ष संवाद गरिरहेका पाण्डे आफूलाई ‘नेता’ भन्दा पनि जनताको सुख दुःखको ‘साथी’ र विकासको ‘मुखिया’का रूपमा प्रस्तुत गर्न चाहन्छन् ।
व्यवसायिक रूपमा सफल हुँदाहुँदै पनि आफ्नै माटोको अवस्था देखेर राजनीतिमा होमिएको बताउने पाण्डेले आफ्नो चुनावी अभियानलाई ‘होल बडी चेकअप’को रूपकसँग जोड्दै आएका छन् । ‘मान्छे बिरामी हुँदा अन्दाजको भरमा औषधी खाएर हुँदैन, पहिला ‘होल बडी चेकअप’ गरेर रोग पत्ता लगाउनुपर्छ,’ उनी भन्छन्, ‘मैले ३ वर्ष ९ महिना लगाएर मेरो क्षेत्रका ३५ वटै वडाको चेकअप गरिसकेको छु ।
अब मसँग रोगको पहिचान मात्र होइन, उपचारको प्रेस्किप्सन पनि तयार छ ।’ उनका अनुसार पर्सा–३ को सबैभन्दा जटिल समस्या कृषि उपजले बजार नपाउनु हो । धोरेदेखि भाठासम्मका क्षेत्रमा किसानले उत्पादन गरेका तरकारी, अण्डा र दूधले उचित बजार नपाउँदा पशुलाई खुवाउनुपर्ने वा फाल्नुपर्ने अवस्था रहेको उनले बताए । ‘किसानले मेहनत गर्छ, उत्पादन गर्छ तर मूल्य पाउँदैन । यही कारणले युवा विदेशिन बाध्य छन्,’ पाण्डेले भने ।
कृषि क्षेत्रमा देखिएको यो संकट समाधानका लागि उनले चारवटा आधुनिक ‘कोल्ड स्टोर’ स्थापना गर्ने योजना अघि सारेका छन् । उत्पादन संकलन, भण्डारण र बजार व्यवस्थापनलाई एउटै श्रृङ्खलामा बाँधेर किसानलाई न्यूनतम मूल्य सुनिश्चित गर्ने उनको दाबी छ । ‘उत्पादनदेखि बजारसम्मको शृंखला मजबुत भयो भने किसानले उचित मूल्य पाउँछन्, युवाले यहीँ अवसर पाउँछन्,’ उनले जोड दिए ।
शिक्षा र स्वास्थ्य क्षेत्र पनि आफ्नो प्राथमिकतामा रहेको पाण्डे बताउँछन् । पर्सा–३ मा ११७ वटा विद्यालय र ९३ वटा स्वास्थ्य संस्था भएपनि तिनको गुणस्तर सन्तोषजनक नभएको उनको निष्कर्ष छ । निर्वाचित भएमा सांसदको भूमिकालाई केवल नीति निर्माणमा सीमित नराखी प्रत्यक्ष अनुगमन गर्ने उनको योजना छ । ‘सांसद भनेको मन्त्री बन्ने प्रतीक्षामा बस्ने पद होइन,’ पाण्डे भन्छन्, ‘गरिबका छोराछोरी स्कुल गएका छन् कि छैनन्, झोलामा कपी कलम छ कि छैन, शिक्षक कक्षामा छन् कि छैनन् भन्ने हेर्ने जिम्मेवारी पनि सांसदकै हो ।’ उनले विद्यालय व्यवस्थापन समितिसँग नियमित समन्वय र सार्वजनिक प्रतिवेदन प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएका छन् ।
खानेपानी, सडक र सिँचाइका अधुरा आयोजनालाई उनले ‘इच्छाशक्ति नभएको नेतृत्व’को परिणाम भनेका छन् । ‘ट्यांकी बनेर पनि पानी नआउने, सडकको टेन्डर भएर पनि काम नहुने, सिँचाइका नहर पुरिएर जाने यी सबै समस्या नेतृत्वको कमजोरीका उदाहरण हुन्,’ उनले आरोप लगाए । आफू निर्वाचित भएमा प्रत्येक योजनाको समयसीमा निर्धारण गरी सार्वजनिक अनुगमन गर्ने व्यवस्था मिलाउने उनको भनाइ छ ।
प्रतिस्पर्धी दल र उम्मेदवारप्रति संकेत गर्दै पाण्डेले लामो समय सत्तामा रहेर पनि आधारभूत विकास गर्न नसक्नेहरूलाई अब विश्राम लिनुपर्ने टिप्पणी गरेका छन् । नयाँ दलहरूलाई भने उनले ‘पानीको फोका’को संज्ञा दिँदै स्थायी नीति र संरचना निर्माण गर्न सक्षम शक्ति आवश्यक रहेको तर्क राखेका छन् । ‘एमालेले मलाई टिकट दिनुको कारण मेरो सामाजिक छवि र काम गर्ने हुटहुटी हो,’ पाण्डे भन्छन्, ‘म राजनीतिमा पैसा कमाउन आएको होइन, पर्सा–३ को मुहार फेर्न आएको हुँ ।’ उनका अनुसार क्षेत्रका मतदाताले उनलाई पार्टीको उम्मेदवार मात्र नभई ‘रूपेश बाबु’का रूपमा स्वीकार गरिरहेका छन् ।
यतिबेला पाण्डे घरदैलो, टोलभेला र किसान युवासँग अन्तरक्रिया कार्यक्रममा व्यस्त छन् । उनले आफ्नो अभियानलाई नारामुखीभन्दा योजनामुखी बनाउने प्रयास गरेको देखिन्छ । कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई चार आधारस्तम्भ बनाएर अघि बढेको उनको प्रचार रणनीति पर्सा–३ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । मतदाताले विकासको स्पष्ट खाका, निरन्तर उपस्थिती र कार्यान्वयनको प्रतिबद्धतालाई कति प्राथमिकता दिन्छन् भन्ने कुराले नै पाण्डेको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।








प्रतिक्रिया दिनुहोस् !