वीरगंज (पर्सा), १८ माघ । पर्सा क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफ्नो पक्षमा बढ्दो जनसमर्थन देखेर विपक्षीहरू आत्तिएको बताएका छन् । वीरगंज–१६ नगवामा शनिबार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रमलाई बिथोल्ने प्रयास भएको उल्लेख गर्दै उनले जनलहरले नै त्यस्ता प्रयास असफल बनाइदिएको दाबी गरे ।
नगवामा आयोजित कार्यक्रममा हजारौँ स्थानीयको उत्साहजनक उपस्थितिले एमालेप्रतिको विश्वास झनै प्रष्ट भएको यादवको भनाइ छ । ‘पर्सा–१ मा एमालेको जित सुनिश्चित हुँदै गएको दृश्य विपक्षीका लागि सह्य भएन,’ उनले भने, ‘त्यही कारण कार्यक्रमलाई बदनाम गर्ने प्रयास गरियो, तर जनताको समर्थनका अगाडि त्यस्ता हर्कत टिक्न सकेनन् ।’
पूर्वमन्त्रीसमेत रहेका यादवले आफू मन्त्री रहँदा गरेका विकासका कामहरूको मूल्यांकन अहिले जनताले गरिरहेको दाबी गरे । ‘अरूको जस्तो भाषण होइन, मेरो काम बोल्छ,’ उनले जोड दिए । नगवामा देखिएको सहभागिता कुनै संयोग नभई जनताको चेतना र परिवर्तनको चाहनाको परिणाम भएको उनले उल्लेख गरे ।
कार्यक्रमका क्रममा विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्नेहरूको संख्या उल्लेखनीय रहेको बताइएको छ । स्थानीय बासिन्दाहरूले विकास, जवाफदेहिता र परिणाममुखी नेतृत्वको खोजीमा एमाले रोजेको प्रतिक्रिया दिएको यादवले बताए । ‘जनताले अब पुरानो शैलीको राजनीति होइन, काम गर्ने नेतृत्व खोजिरहेका छन्,’ उनले भने ।
यादवका अनुसार नगवामा देखिएको जनलहर पर्सा–१ का अन्य क्षेत्रमा पनि दोहोरिने संकेत देखिएको छ । घरदैलो, भेटघाट र पार्टी प्रवेश कार्यक्रमहरूमा बढ्दो सहभागिताले एमालेप्रतिको आकर्षण स्पष्ट देखिएको उनको दाबी छ । आगामी दिनमा जनतासँगको संवादलाई अझ तीव्र बनाउँदै चुनावी अभियान अघि बढाइने उनले बताए ।







प्रतिक्रिया दिनुहोस् !