वीरगंज (पर्सा), २६ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साको दोस्रो जिल्ला परिषद भेला शनिबार वीरगंजमा भव्य रूपमा सम्पन्न भएको छ । वीरगंजस्थित होटल मकालुमा आयोजित भेलाको उद्घाटन प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतमले गर्नुभएको हो ।
उद्घाटन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उपाध्यक्ष गौतमले निजी विद्यालयप्रति राज्यको दृष्टिकोण अझै पनि अपेक्षाअनुसार सकारात्मक हुन नसकेको टिप्पणी गर्नुभयो । निजी विद्यालयहरूले छात्रवृत्तिमार्फत शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहे पनि त्यसको उचित मूल्यांकन राज्यबाट नहुनु दुःखद रहेको उहाँको भनाइ थियो ।
उपाध्यक्ष गौतमले वीरगंजको ठाकुर राम कलेजको वर्तमान अवस्थाप्रति समेत चिन्ता व्यक्त गर्दै सांसद र मन्त्री उत्पादन गर्ने ऐतिहासिक कलेज आज जीर्ण अवस्थामा पुग्नु विडम्बनापूर्ण भएको उल्लेख गर्नुभयो ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, मधेश प्रदेश उपाध्यक्ष पूरण प्रधान र इमामुद्दिन अहमद, मधेश प्रदेश प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, वरिष्ठ सल्लाहकार हरिश्याम ठाकुर, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश अध्यक्ष मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, हिसानका केन्द्रीय सदस्य मुकेश गुप्ता, प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गर्नुभएको थियो ।
भेलाका अवसरमा प्याब्सन सदस्य विद्यालयमा १० वर्षभन्दा लामो समयदेखि सेवा दिँदै आएका शिक्षक–शिक्षिकाहरू, एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरू तथा प्याब्सन मधेश प्रदेश समितिमा मनोनित पदाधिकारी र सल्लाहकारहरूलाई सम्मान गरिएको थियो । शैक्षिक सत्र २०८१ मा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यालयतर्फ पर्साको गौतम माध्यमिक विद्यालयले ४ जीपीए ल्याई विशेष सम्मान प्राप्त गरेको छ भने शतप्रतिशत नतिजा हासिल गर्न सफल मस्कोट एकेडेमीलाई पनि सम्मान गरिएको छ ।
यसैगरी, नेपालमै पहिलोपटक छात्रा क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गर्नुका साथै १० प्रतिशत अनिवार्य छात्रवृत्तिबाहेक खुला आवेदनमार्फत पारदर्शी रूपमा छात्रवृत्ति वितरण गरेको योगदानको कदर गर्दै प्याब्सन वीरगंज महानगर समितिलाई विशेष सम्मान प्रदान गरिएको छ । उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण गर्दै शैक्षिक क्षेत्रमा उदाहरणीय कार्य गरेको ठहरसहित महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोकसहित सम्पूर्ण कार्यसमितिलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्याब्सन मधेश प्रदेशमा मनोनित पूरण प्रधान, प्राज्ञिक सल्लाहकारमा मनोनित लालबहादुर पटेल र मणी पाख्रिन तथा पर्सा जिल्लाका प्राज्ञिक सल्लाहकारमा मनोनित श्याम केसीलाई समेत सम्मान गरिएको थियो ।
उद्घाटन सत्रपछि सम्पन्न परिषद्को बन्दसत्रमा निवर्तमान कार्यसमितिले पेश गर्न बाँकी रहेको आर्थिक प्रतिवेदन र वर्तमान कार्यसमितिका अध्यक्ष तथा कोषाध्यक्षले प्रस्तुत गरेका आर्थिक प्रतिवेदनमाथि छलफल गरी बहुमतले पारित गरिएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिनुभएको छ ।














प्रतिक्रिया दिनुहोस् !