वीरगंज (पर्सा), १८ पुस । पर्सा जिल्लाको ठोरी गाउँपालिकाको हिउँदे गाउँसभा तथा चौधौँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन जिल्ला समन्वय समिति पर्साकी सदस्य शुशिला विकले गरेकी थिइन् ।
अधिवेशनको प्रारम्भमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरीले स्वागत मन्तव्य राख्दै हालसम्म गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रम, हासिल गरेका उपलब्धि तथा आगामी दिनमा कार्यान्वयन गरिने विकास योजनाहरूको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।
अधिवेशनमा गाउँपालिका अध्यक्ष श्रेष्ठले स्थानीय तहको भूमिका र जिम्मेवारीबारे धारणा राख्दै विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर काम भइरहेको बताए । त्यसैगरी गाउँपालिका उपाध्यक्ष गोकुली रेग्मीले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै जनताको आवश्यकतामा आधारित कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा वडा अध्यक्षहरू अमृतकृष्ण सापकोटा र अष्टबहादुर लोप्चन, कार्यपालिका सदस्य फुलमाया दर्जीलगायतले आ–आफ्नो धारणा राख्दै स्थानीय विकास, आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा थप सुधार आवश्यक रहेको औँल्याए ।
वक्ताहरूले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय, पारदर्शी प्रशासन र प्रभावकारी सेवा प्रवाह नै गाउँपालिकाको दिगो विकासको आधार हुने धारणा व्यक्त गरे । साथै, जनमुखी तथा समावेशी कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्थानीय विकास प्रक्रियालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो ।
अधिवेशनले विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ । यस क्रममा केही योजना तथा बजेट शीर्षकहरूमा सामान्य संशोधन समेत गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत चौधरीले दिएका छन् ।
अधिवेशनले आगामी दिनमा ठोरी गाउँपालिकाको समग्र विकास, प्रशासनिक सुधार तथा सुशासन प्रवद्र्धनका लागि महत्वपूर्ण दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ । स्थानीय तहको विकास यात्रालाई थप सशक्त बनाउने लक्ष्यका साथ सम्पन्न अधिवेशनले गाउँपालिकाको भावी कार्यदिशा स्पष्ट पारेको जनाइएको छ । 








प्रतिक्रिया दिनुहोस् !