वीरगंज (पर्सा), १३ पुस । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले नेपाल भारत सीमा क्षेत्रमा अवस्थित वीरगंज रक्सौल अन्तर्राष्ट्रिय मितेरी पुल वरिपरि सञ्चालन भइरहेको सौन्दर्यकरण कार्यको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सीमा क्षेत्रको सुरक्षा व्यवस्था, सरसफाइ तथा पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् । नेपाल भारत सीमा क्षेत्र संवेदनशील रहेको उल्लेख गर्दै उनले यस्ता क्षेत्रमा वातावरणीय सौन्दर्य, स्वच्छता र सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउनु अत्यन्त आवश्यक रहेको बताए ।
आईजीपी अर्यालले सीमा क्षेत्रमा हरियाली प्रवद्र्धन, सार्वजनिक स्थलको संरक्षण तथा दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवाला निकायहरूबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । उनले सीमा क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने कार्यले दुवै देशबीचको सम्बन्ध र स्थानीय नागरिकको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
उक्त सौन्दर्यकरण अभियान वीरगंज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर तथा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण, वीरगञ्जको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ । अभियानले वीरगंजलाई हराभरा, स्वच्छ र वातावरणमैत्री सहर बनाउने लक्ष्यमा सहयोग पुर्याइरहेको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।
निरीक्षण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रमुख प्रहरी उपरीक्षक पुरन चन्द भट्ट, सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी, रक्सौल सीमा सुरक्षाबलका पदाधिकारी, सशस्त्र प्रहरीका प्रतिनिधि, नगरप्रहरी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले सीमा क्षेत्रको सौन्दर्यकरणले सुरक्षा सुदृढीकरण मात्र नभई पर्यावरण संरक्षण, सरसफाइ प्रवद्र्धन तथा नागरिक सचेतना अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस् !