कलैया (बारा), २६ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–ढल्केबर सडक खण्डमा निर्माणाधीन बाराको दुधौरा पुल आगामी पुस महिनाभित्र सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएका छन् । लामो समयदेखि अलपत्र परेको पुल निर्माणबारे बढ्दो गुनासोपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ शुक्रवार स्थलगत निरीक्षणमा पुगेका थिए ।
पुल निर्माणमा भइरहेको ढिलाइ, बाँकी कार्य, निर्माण तालिका तथा देखिएका समस्या चुनौतीबारे मन्त्री घिसिङले सडक विभागका महानिर्देशक तथा निर्माण व्यवसायीसँग विस्तृत छलफल गरेका थिए । मुख्य राजमार्गमा पर्ने पुल लामो समयसम्म नसकिँदा सर्वसाधारण यात्रुहरू दैनिक सास्ती व्यहोर्न बाध्य भएको उल्लेख गर्दै उनले ‘विद्युत् लाइन जस्ता सामान्य कारण देखाएर काम रोक्न नहुने’ चेतावनीसमेत दिए । पुलनजिकै रहेको ११ केभी लाइनले निर्माणमा कुनै प्राविधिक असर नपर्ने स्पष्ट पारे ।
दुधौरा पुलको ठेक्का पाएको महादेव खिम्ती–हिराचन उपक्रम (जेभी) का प्रतिनिधि तथा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो पटक थप गरिएको समयसीमाभित्रै पुल निर्माण पूरा गर्ने दृढता व्यक्त गरे । उनले निर्माण कार्यलाई तीव्रता दिइ पुसभित्रै पुल सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए ।
चार लेनको यो ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती–हिराचन उपक्रम (जेभी) सँग २०७५ असार २४ गते करसहित १७ करोड २२ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो । सुरूको सम्झौताअनुसार पुल निर्माण २०७८ असारभित्र सम्पन्न हुनुपर्ने थियो ।
समयमै काम नसकिएपछि पटक पटक म्याद थपिएको र पछिल्लो म्यादअनुसार आगामी पुसभित्र पुल निर्माण सक्नुपर्ने ठेकेदार पक्षले जनाएको छ । अहिले पुल निर्माणको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ । वर्षौँदेखि अधुरो रहेको दुधौरा पुल निर्माण समयमै सकिने आश्वासनसँगै स्थानीयवासी तथा यात्रुहरूले अब सहज र सुरक्षित आवागमनको अपेक्षा गर्न थालेका छन् ।









प्रतिक्रिया दिनुहोस् !