वीरगंज (पर्सा), १५ मंसिर । एचआईभी परीक्षण, उपचार तथा सचेतना अभियानमा सक्रिय एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ) नेपालले विविध कार्यक्रमसहित वीरगञ्जमा ३८ औँ विश्व एड्स दिवस मनाएको छ । दिवसको अवसरमा विद्यालयस्तरका विद्यार्थीलाई लक्षित वक्तृत्वकला प्रतियोगिता, डिजिटल भ्वाइसेस च्यालेञ्जको पुरस्कार वितरण तथा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको एएचएफ नेपालले जानकारी दिएको छ ।
बाराको परवानीपुर गाउँपालिका–३ स्थित श्री भोजभगत माध्यमिक विद्यालयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ की दिव्या कुमारी पाठक प्रथम, कक्षा १० की चाँदनी कुमारी राम द्वितीय र कक्षा १२ का सत्येन्द्र कुमार राम तृतीय भएका एएचएफ नेपालका मयंक गुप्ताले जानकारी दिए ।
विजयी विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक बलिराम प्रसाद सर्राफ, सहायक शिक्षक जयराम प्रसाद सर्राफ, जमील अन्सारी तथा विद्यार्थी जागरण मञ्चकी लक्ष्मी रानी साहले पुरस्कार प्रदान गरे । प्रतियोगिताका निर्णायकमा डा. अतुलेश कुमार चौरसिया, शिक्षा शाखा संयोजक रविन्द्र कुमार मिश्र र एआरटी सेन्टरकी इन्चार्ज ज्योति गुप्ता रहेका थिए । प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका ११ विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रधानाध्यापक सर्राफले प्रारम्भिक उमेरमै एचआईभी/एड्सबारे सही जानकारी दिन सके भ्रम र डर हट्ने उल्लेख गर्दै विद्यालयमै यस्तो कार्यक्रम हुनु सकारात्मक भएको बताए । एएचएफ नेपालकी काउन्सिलर रोशनी सर्राफले विद्यार्थीलाई एचआईभी/एड्सबारे सचेत र जिम्मेवार बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन् ।
यसै अवसरमा एएचएफ नेपालले आयोजना गरेको डिजिटल भ्वाइसेस च्यालेञ्जको पुरस्कारसमेत वितरण गरियो । १५ जनाको सहभागिता रहेको प्रतियोगितामा वीरगञ्जकी अर्पिता साह प्रथम, नेपालगञ्जका धिरज सुनार द्वितीय र वीरगञ्जका सञ्जु महतो तृतीय बने उनीहरूलाई नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहले पुरस्कार प्रदान गरे ।
डा. साहले एचआईभी/एड्सबारे सही जानकारी र समयमै उपचारले जोखिम कम हुने उल्लेख गर्दै विद्यालय तथा युवा लक्षित कार्यक्रम प्रभावकारी हुने बताए । एएचएफ नेपालको सहयोगले एआरटी सेन्टरको सेवा प्रवाहमा सुधार आएको पनि उनले बताए । दिवसकै अवसरमा स्वास्थ्य कार्यालय पर्सा, एएचएफ नेपाललगायत विभिन्न संघ–संस्थाले संयुक्त रूपमा प्रभातफेरी आयोजना गरेका थिए । घण्टाघरबाट सुरु भएको प्रभातफेरी आदर्शनगर पुगेर समापन भएको थियो ।









प्रतिक्रिया दिनुहोस् !