
वीरगंज (पर्सा), १४ मंसिर । पर्साको ठोरी गाउँपालिका–३ स्थित ‘शिकारीबास प्राथमिक विद्यालय’ को नवनिर्मित भवन आज एक विशेष समारोहकाबीच औपचारिक रूपमा उद्घाटन गरिएको छ । विद्यालयको नयाँ भवनको उद्घाटन गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले गर्दै स्थानीय समुदायको बहुप्रतिक्षित चाहना पूरा भएको बताएका छन् ।
स्थानीयवासीको लामो समयदेखि रहेको शैक्षिक पूर्वाधार अभाव अन्त्य गर्दै निर्माण सम्पन्न भवन हस्तान्तरण भएपछि शिकारीबासवासी उत्साहित देखिन्थे । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ऐतिहासिक रूपमा बसोबास गर्दै आएका समुदायले पहिलोपटक आफ्नै गाउँमै व्यवस्थित र सुरक्षित शैक्षिक भवन पाएका हुन् ।
पहिले दुई कोठामै पाँच कक्षा, हात्तीको आक्रमणले भवन भत्किएको पीडा
विद्यालयका प्रधानाध्यापक नारायण श्रेष्ठका अनुसार, वर्षौँदेखि भवन अभाव विद्यालयको सबैभन्दा ठूलो चुनौती थियो । उनले भने, ‘जम्मा दुईवटा कोठामा ५ कक्षासम्म सञ्चालन गर्नुपर्ने बाध्यता थियो । हिउँदयाममा त विद्यालय परिसरको चौरमै कक्षापठन गर्नुपर्थ्यो ।’
उनले बताए अनुसार, पहिलेका दुई कक्षा कोठा हात्तीको आक्रमणबाट भत्किएपछि विद्यालयको अवस्था झनै कठिन बनेको थियो । नयाँ भवनले अब विद्यार्थीको सुरक्षा र शिक्षण अधिगम वातावरण दुवैमा ठूलो सहजता ल्याउने विद्यालयले जनाएको छ ।
स्थानीय सरकारद्वारा शिकारीबासमा तीव्र विकास
२०७९ मा निर्वाचित स्थानीय सरकार आएदेखि शिकारीबासलाई विशेष प्राथमिकता दिंदै शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारमा निरन्तर काम भइरहेको छ ।
गाउँपालिकाले हालसम्म शुद्ध खानेपानी व्यवस्था, उप–स्वास्थ्य चौकीमार्फत स्वास्थ्य सेवा, मोबाइल नेटवर्क नआएकाले निःशुल्क वाइफाइ सेवा, वैकल्पिक ऊर्जा स्रोतका रूपमा सोलार बत्ती जडान जस्ता काम सम्पन्न गरिसकेको छ ।
यी पहलले शिकारीबासको दैनिकी जीवनस्तरमा उल्लेखनीय परिवर्तन आएको स्थानीयवासी बताउँछन् ।
‘जनता आवास कार्यक्रम’ अन्तिम चरणमा
गाउँपालिकाले सञ्चालन गरिरहेको जनता आवास कार्यक्रम अन्तर्गत पहिलो चरणमा पाँच परिवारका लागि घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अध्यक्ष श्रेष्ठसहितको टोलीले विद्यालय भवन र आवास निर्माण स्थल दुवैको आज निरीक्षण गरेको थियो ।
अध्यक्ष श्रेष्ठका अनुसार, पहिलो चरणका पाँच परिवारलाई छिट्टै घर हस्तान्तरण गरिने र क्रमिक रूपमा बाँकी परिवारलाई पनि सोही सुविधा उपलब्ध गराइनेछ । नयाँ विद्यालय भवनसहितका विकास योजनाले शिकारीबासलाई नक्सामै मात्र होइन, जीवनस्तरमै परिवर्तन गरिरहेको गाउँपालिकाले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस् !