वीरगंज (पर्सा), १० मंसिर । आउँदै गरेको फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा मतदाता नामावली अद्यावधिक अभियान सम्पन्न भएको छ । जिल्लामा कूल १५ हजार ४५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले जानकारी दिइन् ।
अद्यावधिकका लागि असोज १० देखि मंसिर ५ गतेसम्म नागरिकले नाम दर्ता गराएका थिए । सो अवधिमा ८ हजार २४२ पुरुष, ६ हजार ८०३ महिला गरी कुल १५ हजार ४५ जनाले पर्साको नयाँ मतदाता सूचीमा आफूलाई जोड्न सफल भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
थपिएका मतदातामध्ये १४ हजार ३१८ जनाले पर्सा जिल्लामै आएर नाम दर्ता गराएका थिए भने ७२७ जनाले जिल्ला बाहिरबाट दर्ता गराएका थिए । यससँगै पर्सा जिल्लाको कुल मतदाता संख्या ३ लाख ५२ हजार ४८४ पुगेको छ । जसमा पुरुष मतदाता १ लाख ९८ हजार ८०८ जना रहेका छन् भने महिला मतदाता १ लाख ५३ हजार ६६१ जना र तेश्रोलिङ्गगीको मतदाता १५ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता सूचीमा उल्लेख्य वृद्धि हुनु आगामी निर्वाचनमा पर्साको राजनीतिक प्रतिस्पर्धा, निर्वाचन व्यवस्थापन र मतदाता सहभागिताका सन्दर्भमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।








प्रतिक्रिया दिनुहोस् !