गौर (रौतहट), ११ मंसिर । रौतहटको गौरस्थित राइस मिलको मैदानमा सञ्चालन भइरहेको ‘रौतहट एक्स्पो २०८३’ मा टिकटक डान्सर प्रीति पासवानको प्रस्तुतिलाई लिएर उत्पन्न विवादले उग्र रूप लिएपछि मेला परिसरमा झडप तथा व्यापक तोडफोड भएको छ । घटनाका क्रममा मेला प्रवेश गर्ने गेटदेखि टिनका पर्खालसम्म क्षति पुगेको छ भने मनोरञ्जनका लागि राखिएका खेल सामग्रीसमेत दर्शकले लुटेको बताइएको छ ।
दर्शकहरूका अनुसार स्टेजमा सांस्कृतिक प्रस्तुति दिनुपर्ने कलाकारले गीत तथा नृत्यभन्दा भाषण र विवादित अभिव्यक्तिमा बढी समय खर्चिएपछि असन्तुष्टि बढेको थियो । प्रस्तुतिका क्रममा दर्शकलाई उत्तेजित पार्ने खालका अभिव्यक्ति दिएको र पत्रकारहरूप्रति समेत नकारात्मक टिप्पणी गरेको आरोप छ । यही विषयलाई लिएर दर्शक र कलाकारबीच तनाव बढ्दै जाँदा स्थिति नियन्त्रणबाहिर पुगेको बताइएको छ ।
‘पत्रकारहरूले उल्टो समाचार लेख्छन्, प्रीति पासवानकै कार्यक्रममा बबाल भयो भन्छन्’ भन्ने आशयको अभिव्यक्ति दिएर उनले आफ्नो प्रस्तुतिप्रति उठेका प्रश्नको दोष पत्रकारितामाथि थोपर्न खोजेको भन्दै आलोचनासमेत भएको छ । पत्रकारको जिम्मेवारी घटनाको वास्तविकता र तथ्य जनतासमक्ष पुर्याउनु हो । समाचारप्रति असहमति भए तथ्यका आधारमा खण्डन गर्ने बाटो हुँदाहुँदै पत्रकारलाई लक्षित टिप्पणी गर्नु उचित मान्न सकिँदैन ।
मनोरञ्जनका लागि आयोजना गरिएको महोत्सवमा कलाकारको प्रस्तुति विवादको विषय बन्नु र त्यसपछि झडप तथा तोडफोड हुनु दुःखद र निन्दनीय छ । कलाकारले आफ्नो कला र प्रतिभामार्फत दर्शकलाई मनोरञ्जन दिनुपर्ने हो, अनावश्यक विवाद सिर्जना गरी वातावरण तनावपूर्ण बनाउने होइन । यद्यपि, घटनामा कलाकारको अभिव्यक्तिले कस्तो भूमिका खेलेको थियो भन्ने विषय निष्पक्ष छानबिनबाट पुष्टि हुन आवश्यक छ ।
यो घटनाले कलाकारको व्यवहारसँगै आयोजक र मेला व्यवस्थापन समितिको तयारीमाथि पनि गम्भीर प्रश्न उठाएको छ । करोडौँको लगानीमा आयोजना गरिएको एक्स्पोमा सम्भावित जोखिमको पूर्वानुमान किन हुन सकेन ? दर्शकको असन्तुष्टि बढ्दै जाँदा स्थिति नियन्त्रणमा लिन आवश्यक सुरक्षा व्यवस्था किन प्रभावकारी हुन सकेन ? विवादित प्रस्तुति गराउने निर्णय कसले गर्यो र त्यसको जिम्मेवारी कसले लिने ?
घटनाबाट मेला प्रवेशद्वार, टिनका पर्खाल तथा अन्य संरचनामा क्षति पुगेको र लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ । तर क्षतिको यकिन विवरण, घटनाको वास्तविक कारण र जिम्मेवार पक्षबारे आयोजकको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ ।
अब घटनाको निष्पक्ष छानबिन गरी झडप र तोडफोडमा संलग्न व्यक्तिको पहिचान, क्षतिको यकिन मूल्यांकन तथा जिम्मेवार पक्षमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्छ । कलाकारको गैरजिम्मेवार अभिव्यक्ति वा व्यवहारले क्षति निम्त्याउन भूमिका खेलेको पुष्टि भएमा त्यसको जिम्मेवारीसमेत कानुनी प्रक्रियाबाट निर्धारण गरिनुपर्छ ।
रौतहट एक्स्पोमा भएको घटनाले मनोरञ्जनका नाममा आयोजना गरिने कार्यक्रमको व्यवस्थापन, कलाकारको व्यावसायिक आचरण र दर्शकको सुरक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने सन्देश दिएको छ । जनताको प्रश्न अब एउटै छ ‘रौतहट एक्स्पोमा चुक्यो कहाँ र भएको क्षतिको जिम्मेवारी कसले लिने ?’


























प्रतिक्रिया दिनुहोस् !