दुर्गाभगवती (रौतहट), ११ मंसिर । रौतहटको दुर्गा भगवती गाउँपालिका–५ स्थित बागमती नदीको बगरमा जलाउँदै गरिएको अवस्थामा प्रहरीले एक महिलाको शव नियन्त्रणमा लिएको छ । महिलाको हत्या गरी प्रमाण नष्ट गर्ने उद्देश्यले शव जलाउन खोजिएको आरोपमा प्रहरीले मृतकका श्रीमान्सहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मृतक कलावती देवीका माइती पक्षले उनका श्रीमान् दिलीप दास तत्मासहित परिवारका सदस्यले कुटपिट गरी हत्या गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको हो ।
माइती पक्षले मंसिर ९ गते राति करिब ९ः१० बजे कलावतीलाई कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन् । मृत्यु भएपछि घटनालाई लुकाउने र प्रमाण नष्ट गर्ने उद्देश्यले शुक्रबार बिहान करिब ४ बजे बागमती नदीको किनारमा लगेर शव जलाउन थालिएको उनीहरूको दाबी छ ।
घटनाको सूचना पाएपछि प्रहरी टोली बागमती नदीको बगरमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी घटनास्थलमा पुग्दा शवको छातीको केही भाग मात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो । प्रहरीले तत्काल शव नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको थियो ।
शवको पोस्टमार्टम गराएपछि प्रहरीले माइती पक्षलाई बुझाएको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरी उपरीक्षक रिजालले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको बताउँदै अनुसन्धानबाट खुलेका तथ्यका आधारमा घटनाको वास्तविकता सार्वजनिक गरिने जानकारी दिएका छन् । महिलाको मृत्युको कारण, कुटपिट भएको भनिएको घटनाको वास्तविकता र शव जलाउन खोज्नुको उद्देश्यबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।




























प्रतिक्रिया दिनुहोस् !