अमलेखगञ्ज (बारा), ९ मंसिर । नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई थप सुरक्षित, सहज र आधुनिक बनाउने लक्ष्यसहित निर्माण गरिएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको सोमबार औपचारिक उद्घाटन गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट संयुक्त रूपमा डिजिटल उद्घाटन गरेसँगै अमलेखगञ्जस्थित नेपाल आयल निगमको टर्मिनल अत्याधुनिक तथा पूर्ण स्वचालित स्मार्ट टर्मिनलका रूपमा सञ्चालनमा आएको छ ।
उद्घाटनपछि बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा नेपाल र भारतका सरकारी अधिकारीहरूले संयुक्त रूपमा परियोजनाको शिलालेख अनावरण गरेका थिए । दोस्रो चरणको स्तरोन्नतिले नेपालको पेट्रोलियम भण्डारण, ट्याङ्कर लोडिङ तथा वितरण प्रणालीमा ठूलो प्राविधिक सुधार ल्याएको छ । अमलेखगञ्ज आयल निगम प्रादेशिक कार्यालयका प्रमुख अशोक साहका अनुसार परियोजनामा कुल ६६३ करोड रुपैयाँ खर्च भएको छ । भारतीय आयल कर्पोरेसनले अमलेखगञ्ज टर्मिनलको पुनःइन्जिनियरिङ गर्दै भण्डारण संरचना, ट्रान्समिक्स ट्याङ्की र अग्नि नियन्त्रण प्रणालीलाई आधुनिक बनाएको हो ।
परियोजनाअन्तर्गत भारतीय आयल कर्पोरेसनले करिब १०० करोड रुपैयाँ लगानीमा ४ हजार किलो लिटर क्षमताको पेट्रोल ट्याङ्की, २५० किलो लिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्याङ्की तथा अग्नि नियन्त्रण प्रणालीको पुनःसंरचना गरेको छ । त्यसैगरी नेपाल आयल निगमले करिब १४६ करोड रुपैयाँ खर्चेर थप ४ हजार किलो लिटर क्षमताको पेट्रोल ट्याङ्की, २४ वटा स्वचालित ट्याङ्कर लोडिङ ग्यान्ट्री, टर्मिनल अटोमेसन सिस्टम, गुणस्तर नियन्त्रण प्रयोगशाला र अन्य आवश्यक पूर्वाधार निर्माण गरेको साहले जानकारी दिए ।
दैनिक ३०० ट्याङ्कर लोड, आपूर्ति व्यवस्थापनमा ठूलो सुधार
स्तरोन्नतिपछि अमलेखगञ्ज टर्मिनलबाट दैनिक करिब ३०० वटा पेट्रोलियम ट्याङ्करमा इन्धन लोड गर्न सकिने भएको छ । स्वचालित प्रणालीबाट सञ्चालन हुने नयाँ संरचनाले ट्याङ्कर लोडिङमा लाग्ने समय घटाउनुका साथै इन्धनको गुणस्तर नियन्त्रण र वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
यसअघि विभिन्न चरणमा सम्पन्न गर्नुपर्ने लोडिङ तथा व्यवस्थापनका काम अब आधुनिक स्वचालित प्रणालीबाट सञ्चालन हुनेछन् । यसले पेट्रोलियम पदार्थको ढुवानी लागत घटाउन र बजारमा इन्धनको नियमित आपूर्ति कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
दैनिक २३३ ट्याङ्कर सडकबाट हट्ने, वार्षिक ३४ हजार ६०० टन कार्बन उत्सर्जन घट्ने
पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी विस्तार हुँदा सडकमा ट्याङ्करको निर्भरता उल्लेख्य रूपमा घट्नेछ । डिजेल, पेट्रोल र मट्टीतेलको ढुवानीमा पाइपलाइनको प्रयोग बढेसँगै दैनिक करिब २३३ वटा ट्याङ्कर सडकबाट हट्ने र वार्षिक करिब ३४ हजार ६०० टन कार्बन उत्सर्जन न्यूनीकरण हुने जनाइएको छ ।
यसबाट इन्धन ढुवानीका क्रममा हुने सडक चाप, दुर्घटनाको जोखिम तथा वातावरणीय प्रदूषण घटाउनसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ । ऊर्जा आपूर्तिसँगै वातावरणीय सुरक्षाका दृष्टिले पनि परियोजनालाई महत्वपूर्ण मानिएको छ ।
दक्षिण एसियाकै पहिलो सीमापार पेट्रोलियम पाइपलाइनको क्षमता विस्तार
नेपाल र भारतबीचको ऊर्जा सहकार्यको महत्वपूर्ण परियोजनाका रूपमा रहेको ६९ किलोमिटर लामो मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सन् २०१९ मा दुवै देशका तत्कालीन प्रधानमन्त्रीबाट संयुक्त रूपमा उद्घाटन गरिएको थियो । यो दक्षिण एसियाकै पहिलो सीमापार पेट्रोलियम पाइपलाइन हो ।
दोस्रो चरणको स्तरोन्नतिपछि पाइपलाइनमार्फत डिजेल, पेट्रोल तथा मट्टीतेलको आपूर्ति थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ । सन् २०२५ जनवरीमै निर्माण सम्पन्न भएको यस परियोजनाको कार्यान्वयनका क्रममा १० लाखभन्दा बढी सुरक्षित मानव–घण्टा काम सम्पन्न भएको थियो भने करिब १ लाख ५० हजार मानव–दिन बराबरको रोजगारी सिर्जना भएको जनाइएको छ ।
हाल टर्मिनलको सञ्चालन तथा मर्मतसम्भारमा करिब १३५ जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत अघि बढाइएको यो परियोजनाले नेपालको पेट्रोलियम आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउनुका साथै ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै, दुई देशबीचको पूर्वाधार विकास, ऊर्जा साझेदारी र आर्थिक सहकार्यलाई थप मजबुत बनाउने आधारका रूपमा समेत यसलाई हेरिएको छ ।



























प्रतिक्रिया दिनुहोस् !