भंगहा (महोत्तरी), ९ मंसिर । महोत्तरीको भंगहा नगरपालिका–७ स्थित तपसरी कुटीमा नवनिर्मित थारु सांस्कृतिक तथा पर्यटन केन्द्रको भवन उद्घाटन गरी हस्तान्तरण गरिएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने नारासहित आयोजित कार्यक्रममा थारु समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको भवन केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
नीता इन्जिनियरिङ, काठमाडौंको आर्थिक सहयोगमा भवन निर्माण गरिएको जनाइएको छ । थारु समुदायको मौलिक संस्कृति र ऐतिहासिक पहिचान संरक्षण गर्नुका साथै सांस्कृतिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । रामनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्जिनियर सुदीप चौधरी र डा. नीता चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा पूर्वमन्त्री नागेन्द्र चौधरी, भंगहा नगरपालिका–३ का वडाध्यक्ष जितेन्द्र सिंह थारु, राजनीतिकर्मी उदयनारायण चौधरी, भंगहा नगरपालिकाका मेयर सञ्जीप साह तथा चलचित्र विकास बोर्डका सदस्य किशोर लेखीले मन्तव्य राखेका थिए । वक्ताहरूले थारु समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षणका लागि सांस्कृतिक केन्द्र महत्वपूर्ण हुने बताए ।
उनीहरूका अनुसार यस्ता संरचनाले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान र परम्परासँग जोड्नुका साथै सांस्कृतिक गतिविधि विस्तार गर्न सहयोग पुर्याउनेछ । नवनिर्मित केन्द्रलाई थारु समुदायका सांस्कृतिक कार्यक्रम, मौलिक परम्पराको पुस्तान्तरण तथा पर्यटनसम्बन्धी गतिविधिको केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।
यसले स्थानीय पर्यटन प्रवद्र्धनसँगै थारु समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई थप स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।


























प्रतिक्रिया दिनुहोस् !