चन्द्रनगर (सर्लाही), ९ मंसिर । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित मदरसाका लागि पाँच जना स्वयंसेवक शिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । गाउँ कार्यपालिकाको कार्यालयले बुधबार सूचना जारी गर्दै प्राथमिक तहका शिक्षक पदमा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
गाउँपालिकाको शिक्षा शाखाका अनुसार विज्ञापन नम्बर ०१/२०८३/०८४ अन्तर्गत करार सेवामा पाँच जना स्वयंसेवक शिक्षक नियुक्त गरिनेछ । उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह (+२) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै, उम्मेदवारसँग स्थायी अध्यापन अनुमति पत्र अनिवार्य हुनुपर्नेछ । दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ मंसिर २३ गते कार्यालय समयभित्र आवश्यक कागजातसहित दरखास्त पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । शिक्षक छनोट प्रक्रिया शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमका आधारमा सञ्चालन हुनेछ । छनोटका लागि लिखित परीक्षा (सामान्य वस्तुगत), कक्षा अवलोकन वा प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता लिइनेछ ।
परीक्षाको मिति, समय र केन्द्रबारे पछि अर्को सूचना जारी गरिनेछ । उम्मेदवारका लागि २०८३ मंसिर २५ गते सम्पर्क मिति तोकिएको गाउँपालिकाले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस् !