बोदेबरसाइन (सप्तरी), ८ मंसिर । सप्तरीको बोदेबरसाइन नगरपालिकाले बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गर्न लागेको पोषणसम्बन्धी कार्यक्रमको आशयपत्र (ईओआई) आह्वान प्रक्रिया रद्द गरेको छ । नगरपालिकाले गत कात्तिक २० गते २ करोड ९३ लाख रुपैयाँ लागत अनुमानसहित कार्यक्रम सञ्चालनका लागि परामर्श सेवा उपलब्ध गराउन इच्छुक योग्य संस्था, कम्पनी तथा फर्मसँग आशयपत्र माग गरेको थियो ।
नेपाल सरकार राष्ट्रिय योजना आयोगबाट प्राप्त विशेष अनुदानमार्फत कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको तयारी थियो । आशयपत्र पेस गर्न मंसिर ७ गते दिउँसो १२ बजेसम्मको समयसीमा तोकिएको थियो । तर, तोकिएको समयसीमा सकिनुअघि नै मंसिर ४ गते सूचना प्रकाशित गर्दै नगरपालिकाले उक्त प्रक्रिया रद्द गरेको हो । प्रक्रिया रद्दसम्बन्धी सूचना निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर यादवले जारी गरेका थिए ।
यादवका अनुसार खरिद प्रक्रिया नै त्रुटिपूर्ण भएकाले आशयपत्र आह्वान रद्द गरिएको हो । परामर्श सेवा खरिद र अन्य सेवा खरिदका लागि छुट्टाछुट्टै सूचना आह्वान गर्नुपर्नेमा एउटै प्रक्रियाबाट अघि बढाइएको पाइएकाले रद्द गर्नुपरेको उनले बताए । यद्यपि, नगरपालिकाभित्रै कार्यक्रमको लागत र बाह्य परामर्शदाता नियुक्त गर्ने प्रक्रियालाई लिएर असन्तुष्टि देखिएको छ । केही कर्मचारीले नेपालमा पोषण क्षेत्रमा काम गर्ने सेवा प्रदायक संस्था सीमित रहेको अवस्थामा यति ठूलो रकम खर्च गरेर बाह्य परामर्शदाता नियुक्त गर्नुको औचित्यमाथि प्रश्न उठाएका छन् ।
उनीहरूका अनुसार नगरपालिकामा उपलब्ध जनशक्ति परिचालन गरेरै कार्यक्रम सञ्चालन गर्न सकिन्छ । त्यसो गर्दा ५० देखि ५४ लाख रुपैयाँमै लक्षित समुदायसम्म सेवा पुर्याउन सकिने उनीहरूको दाबी छ । यसले प्रस्तावित लागतभन्दा निकै कम खर्चमा कार्यक्रम कार्यान्वयन गर्न सकिने कर्मचारीहरूको भनाइ छ । कार्यक्रममा केही स्वार्थ समूह सक्रिय रहेको र आगामी स्थानीय तह निर्वाचनका कारण विवादमा पर्न सक्ने आशङ्काले कर्मचारीले बीचमै ईओआई प्रक्रिया रद्द गराएको स्रोतको दाबी छ । तर, यस विषयमा नगरपालिकाले औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।
बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार गर्ने उद्देश्यले ल्याइएको यो कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके मातृ तथा बाल स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण तथा पोषणसम्बन्धी जनचेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ । तर, कार्यक्रमको अनुमानित लागत, बाह्य परामर्शदाता नियुक्त गर्नुपर्ने आवश्यकता र स्थानीय जनशक्तिको उपयोगिताबारे पर्याप्त स्पष्टता नहुँदा यसको औचित्य, पारदर्शिता र कार्यान्वयन प्रक्रियामाथि प्रश्न उठेको छ । नगरपालिकाले ईओआई प्रक्रिया रद्द गर्नुको विस्तृत कारण सार्वजनिक नगर्दा थप अन्योलसमेत देखिएको छ ।


























प्रतिक्रिया दिनुहोस् !